थानकोट डिपोको पेट्रोल भण्डारण क्षमता बढाइयो, पानी हालेर ‘फ्लोटिङ रुफ’ परीक्षण

334

चन्द्रागिरि ।

काठमाडौं उपत्यकाका लागि इन्धन वितरण गर्ने नेपाल आयल निगमको थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता वृद्धि भएको छ । भण्डारण क्षमता थोरै हुँदा उपत्यकामा माग बढेका बखत इन्धन वितरण गर्न असहज भएको भन्दै नेपाल आयल निगमले भण्डारण बढाएको हो ।

निगमका प्रवक्ता सीताराम पोख्रेलका अनुसार मट्टीतेलको भण्डारण गृह मर्मत गरी पेट्रोल भर्न मिल्ने गरी तयार पारिएको छ । ‘उपत्यकामा पेट्रोलको माग बढ्दै गएको छ भने मट्टीतेलको घटेको छ,’ उनले भने, ‘त्यसैले यसअघि तयार गरिएको मट्टीतेलको भण्डारण गृह मर्मत गरेर पेट्रोल भर्न मिल्ने गरी तयार गरिएको हो ।’

समान २ हजार १ सय किलोलिटर क्षमताका दुई वटा भण्डार गृहमा पेट्रोल भण्डारण गर्न मिल्ने गरी तयार गरिएको उनले बताए । यसअघि थानकोट डिपोमा १ हजार ८ सय किलोलिटर पेट्रोल मात्र भण्डारण क्षमता थियो । ‘अब पेट्रोलका लागि मात्रै ६ हजार किलोलिटर क्षमताको भण्डारण तयार भएको छ,’ उनले भने, ‘अब उपत्यकाको सामान्य मागअनुसार १२ दिन वितरण गर्न पुग्ने पेट्रोल भण्डारण गर्न मिल्छ ।’ उपत्यकामा दैनिक साढे ४ सयदेखि ५ सय किलोलिटर पेट्रोलको माग रहेको उनले जानकारी दिए ।

भण्डारण गृह भारतबाट आएका प्राविधिकले आवश्यक मर्मत गरेको उनले बताए । अब थानकोट डिपोमा ६ हजार किलोलिटर पेट्रोल, ८ हजार किलोलिटर डिजेल र ७ सय ६० किलोलिटर मट्टीतेल अटाउने भण्डारण गृह भएको छ ।

पानी हालेर परीक्षण
मट्टीतेलको भण्डारणलाई पेट्रोल भण्डारण गृहमा रूपान्तरण गरेपछि ट्यांकीमा पानी हालेर ‘फ्लोटिङ रुफ’ परीक्षण भइरहेको छ । ‘ट्यांकीको माथिल्लो भागमा देखिने ढक्कन भुइँसम्म हुन्छ । ट्यांकीमा जति पानी हाल्दै गयो ढक्कन त्यति नै माथि उठ्दै जान्छ,’ प्रवक्ता पोख्रेलले भने, ‘यसलाई नै फ्लोटिङ रुफ परीक्षण भनिन्छ । यस्तो परीक्षणले ट्यांकीमा कति इन्धन अटाउँछ भन्ने थाहा हुन्छ ।’ ट्यांकी तयार भएपछि यसरी नै अन्तिम परीक्षण गरिने उनले बताए । बारम्बार पेट्रोल हालेर परीक्षण गर्न नसकिने भएकाले पानीको सहारा लिने गरिएको उनको भनाइ छ । पानी हालेर परीक्षण गर्दा ट्यांकी पनि सफा हुने उनले बताए ।