युएई विरुद्ध पारसको शतक, एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको पहिलो शतक

215

दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । यो शतक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली खेलाडीको पहिलो शतक पनि हो ।

पारसले ९६ बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा आफ्नो शतक पुरा गरेका हुन् । १९ रनको क्षतिमा विनोद भण्डारीलाई गुमाएपछि क्रिजमा आएका पारसले उपकप्तान ज्ञानेन्द्र मल्ल (३१ रन) को राम्रो साथ पाए ।

दिपेन्द्र ऐरी (६ रन), पहिलो खेल खेलिरहेका सन्दिप जोरा (१९ रन) र रोहित पौडेल (१६ रन) छिट्टै आउट भएपनि एक तर्फबाट पारसले नेपालको इनिङ्स सम्हालिरहेका छन् ।

अहिले आरिफ शेख ४ रनसहित क्रिजमा छन् भने ३४ ओभर खेलिसक्दा ५ विकेटको क्षतिमा नेपालको १ सय ९३ रन रहेको छ ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २ सय ५५ को लक्ष्य पाएको छ । सुरुवातमा राम्रो तथा कसिलो बलिङ गरे पनि पछिल्लो १५ ओभर नेपालको लागि खर्चिलो सावित भयो । बलिङतर्फ पनि पारसले २ विकेट लिएका थिए ।