
नेकपा (माओवादी केन्द्र)ले तयार पारेकाे चुनावी घोषणापत्रले काठमाडौं उपत्यकामा मोनो रेल र मेट्रो रेल सञ्चालन गर्ने संकल्प गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।
चुनावी घोषणापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले काठमाडौं उपत्यकामा मोनो र मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ। उपत्यकाको बाग्मती, विष्णुमती, धोबीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने केन्द्रले बताएको हो। माओवादीको घोषणापत्रमा चक्रपथ वरिपरि र बूढानीलकण्ठ, सानेपा तथा थानकोट–साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई घोषणापत्रमा महत्वका साथ समावेश गरेको छ। २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै बाम गठबन्धन गरेर झण्डै दुई तिहाइ जनमत प्राप्त गरे पनि दुई-दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको माओवादीको निष्कर्ष छ।
यस्तै माओवादी केन्द्रले सहरका विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने बाचा गरेको छ । सहरी विपन्न नागरिक, ज्येष्ठ नागरिक र असाहयका लागि सामुदायिक आवास निर्माण गरी आयस्तरको आधारमा निःशुल्कदेखि स:शुल्क आवासको व्यवस्था गरिने बाचा माओवादी घोषणापत्रमा गरिएको छ ।