मौन अवधिअघि देउवा, ओली र प्रचण्डले मतदातासँग भोट माग्दै के भने?

deuba oli prachanda

निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु हुनुअघि राजनीतिक दल र उम्मेदवारहरूले विभिन्न सभा सम्मेलन तथा अन्य कार्यक्रम गर्दै चुनाव प्रचारप्रसारलाई बिट मारेका छन्।

निर्वाचन आयोगका अनुसार बिहीवार मध्यरातदेखि निर्वाचनको स्थिर समय सुरु हुनेछ।

त्यस अवधिमा उम्मेदवारहरूले प्रचारप्रसार तथा अन्य चुनावी गतिविधि गर्न पाउने छैनन्।

स्थिर समय सुरु हुनअघि प्रमुख दलका शीर्ष नेताहरूले भिडिओ सन्देश जारी गर्दै आफ्ना प्राथमिकताहरू सार्वजनिक गरेका छन्।

उनीहरूले मतदातालाई आफ्नो पक्षमा मत हाल्न अपिल पनि गरेका छन्।

शीर्षस्थ नेताका अन्तिम सभा
सत्ताधारी गठबन्धनले बिहीवार काठमाण्डू क्षेत्र नं २ मा पर्ने कोटेश्वरमा आफ्नो अन्तिम चुनावीसभा गरेको छ।

उक्त सभालाई गठबन्धनका साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका थिए।

तर प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने काठमाण्डूमा नरहेकाले उक्त सभामा सहभागी भएनन्।

सुदूरपश्चिम क्षेत्रमा रहेका उनले बिहीवार अछाममा भएको चुनावी सभालाई सम्बोधन गर्दै आफ्नो प्रचारप्रसार अन्य गरेका छन्।

त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापाका सभालाई सम्बोधन गरेर आफ्नो चुनावी अभियानको बिट मारेका छन्।

मौन अवधि सुरु हुनुपूर्व विभिन्न दलका शीर्ष नेताहरूले भिडिओ सन्देशमार्फत् मतदातासँग भोट माग्दै आफ्नो दल र गठबन्धनलाई जिताउन आग्रह गरेका छन्।

त्यस क्रममा उनीहरूले आफ्ना प्रतिद्वन्द्वीको विरोध गर्दै आफूहरूले चुनाव जितेमा जनभावनाअनुसार काम गर्ने दाबी गरे।

देउवाको दाबी
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भिडिओ सन्देशमा प्रतिपक्षी नेता केपी ओलीप्रति कटाक्ष गर्दै गठबन्धनको अपरिहार्यतामा जोड दिए।

उनले भने, “दुईदुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै छ।”

“सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको हो र त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन हामी दृढ सङ्कल्परत छौँ।”

उनले “हामी कुरा होइन, काम गर्छौँ” भन्दै मतदातालाई भोट दिन अपिल गरे।

देउवाले नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको दाबी गर्दै देशको सामाजिक र आर्थिक गतिलाई अघि बढाउन पुन: कांग्रेसको नेतृत्व आवश्यक परेको बताए।

उनले भने, “हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दैछन्। उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ हामी अघि बढ्नेछौँ।”

“हाम्रो शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्तदुरुस्त पार्ने परिपाटीको विकास गर्नेछौँ। सीमान्तकृत समुदायको अधिकार प्राप्तिदेखि पिछडिएको क्षेत्र र समुदायको अधिकार प्राप्तिमा पनि नेपाली कांग्रेसको सरकारले महत्त्वपूर्ण काम गरेको छ। यसलाई अझै परिणाम देखिने गरी अघि बढाइने छ।”

ओलीले के भने?
ओलीले पनि भिडिओ सन्देश जारी गर्दै मतदाताहरूले “स्पष्ट निर्णय लिने समय आएको” बताएका छन्।

उनले आफू र देउवालाई तुलना गर्दै सन्देशमा भनेका छन्, “मङ्सिर ४ गते तपाईँले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पिने भने कुराको निर्क्योल गर्नेछ।”

“शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झिनु होला- पहिलो तपाईँको आफ्नै भविष्य र दोस्रो तपाईँका छोराछोरीको भविष्य।”

उनले आफूले “झूटो नबोल्ने र सत्य नछाड्ने” दाबी पनि गरे।

ओलीले “आफू पटकपटक मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति” भन्दै गठबन्धनको विरोध गरेका छन्।

उनले केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले देश चलाइरहेको भन्दै गठबन्धनको कुनै राष्ट्रिय उद्देश्य नभएको दाबी गरे।

“यही गठबन्धन रहिरहेमा मुलुक बरबाद हुनेछ। तपाईँ र तपाईँका छोराछोरीको भविष्य समेत बरबाद हुनेछ,” ओलीले भने।

उनले राष्ट्रिय स्वाधीनता र स्थिरताका लागि पाँच वर्ष टिक्ने सरकार बनाउन आफ्नो दललाई मत दिनुपर्ने तर्क गरेका छन्।

प्रचण्डको दाबी के?
सत्ताधारी गठबन्धनकै अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि भिडिओ सन्देशमार्फत यो चुनाव “अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत सङ्ग्रह” भएको बताएका छन्।

उनले भने, “हामीले व्यवस्था बदल्यौँ। तर उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग समुदायका अधिकार कार्यान्वयन गर्न अझै बाँकी छ।”

“शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको पहुँच, आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत समृद्ध नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ।”

उनले आफूहरूलाई अहिलेकै अवस्थामा रुमलिने छुट नभएको भन्दै “विकास, न्याय र समृद्धिको नेतृत्व प्रतिगामी शक्तिले गर्न सम्भव नभएको” बताए।

त्यसका लागि आफूहरू परिवर्तनकारी शक्ति भएकाले मत दिन दाहालले आग्रह गरेका छन्।

पाँच दलीय गठबन्धनको साझा अपिल
यसैबीच, पाँच दलीय गठबन्धनले मौन अवधि सुरु हुनुअघि एउटा साझा अपिल पनि जारी गर्दै आफ्नो पक्षमा मत मागेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले उक्त संयुक्त अपिल जारी गरेका हुन्।

उनीहरूले आफ्नो गठबन्धनले बहुमत हासिल गरे पाँच वर्ष स्थिर सरकार बन्ने दाबी गरेका छन्।

उनीहरूले गठबन्धन आफ्नो लक्ष्यमा अहिले पनि स्पष्ट भएको दाबी गरेका छन्। बीबीसी