आज पूर्णिमाको दिन चन्द्रमा नउदाउँदै ग्रहण, ६ बजेर ३६ मिनेट पूरै रातो चन्द्रमा देखिने

पूर्णिमाको दिन उज्यालो चन्द्रमा उदाउनु पर्नेमा आज ग्रहण लागेको रातो चन्द्रमा देखिँदैछ।



jibss

नेपालको आकाशमा चन्द्रमा देखिनुअघि नै दिउँसो ४ बजेर ३६ मिनेट जाँदैदेखि ग्रहण लाग्ने प्रक्रिया (पेनम्ब्रल एक्लिप्स) सुरु भइसकेको हुन्छ। साँझ ५ बजेर ३३ मिनेटदेखि ग्रहण लाग्न सुरु हुन्छ। यतिबेला चन्द्रमा क्षितिजमुनि भएकोले देख्न सकिन्न।

साँझ ५ बजेर ५५ मिनेटमा क्षितिजमा उदाउँदै गरेको चन्द्रमामा ग्रहण लागेको देखिनेछ।

६ बजेर ३६ मिनेट जाँदादेखि पूर्ण चन्द्रग्रहणको प्रक्रिया सुरु हुन्छ। यतिबेला चन्द्रमा पूरै रातो देखिनेछ। राति ७ बजेर १४ मिनेट जाँदा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ग्रहण लागेको अवस्थामा चन्द्रमा देखिनेछ।

७ बजेर ५२ मिनेटमा पूर्ण चन्द्रग्रहण सकिनेछ। आंशिक चन्द्रग्रहण पनि सकिने समय भने राति ८ बजेर ५६ मिनेटमा मात्रै हो।

ग्रहण अस्ट्रेलिया, एसिया, उत्तरपूर्वी यूरोप, पूर्वोत्तर अफ़्रिकी देशहरु, उत्तरी अमेरिका, दक्षिण अमेरिकाका उत्तर पूर्वी भागहरुमा समेत देखिन्छ।

कसरी हेर्ने ?
सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणहरुलाई हाम्रो आँखा भित्र पस्न नदिन विभिन्न खालका सावधानीहरु अपनाउनु पर्ने हुन्छ। तर चन्द्रग्रहण जोकोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सकिन्छ। चन्द्रग्रहण टेलिस्कोप, बाइनाकुलर, क्यामरा वा अरु कुनै सामाग्रीले हेर्दा केही असर नगर्ने खगोलविद् जयन्त आचार्य बताउँछन्।  चन्द्रग्रहणमा आँखालाइ हानी नोक्सानी पुर्‍याउने खालका किरणहरु नहुने उनी बताउँछन्।

तर पात्रो बनाउनेहरुका अनुसार चन्द्रग्रहणले  मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर र मीन राशी भएका मानिसहरुलाई नराम्रो फल दिने सम्भावना छ।

यो चन्द्रग्रहण टेलिस्कोपको माध्यमबाट हेर्न चाहने सम्पूर्ण इच्छुक व्यक्तित्वहरुलाई तक्षशिला एष्ट्रनोमी क्लबले सामाखुशीस्थित तक्षशिला कलेजको छतबाट निःशुल्क रुपमा हेर्नसक्ने व्यवस्था मिलाएको आचार्यले बताए।

परम्परागत मान्यता
ग्रहण लाग्नु १२ घण्टाअघिदेखि नै यसको कुप्रभाव सुरु हुने परम्परागत मान्यता छ। यसलाई सूतक काल भनिएको छ। बूढा, बालबालिका र रोगीबाहेक यो अवधिमा भोजन खान, पानी पिउन निषेध गरिएको छ।

स्कन्द पुराण र देवी भागवतमा ग्रहणको बेला खान नहुने उल्लेख छ। पुराणहरुको मान्यता अनुसार राहुले चन्द्रमालाई ग्रसित गर्छ। त्यसैले चन्द्र ग्रहणमा मनको शक्ति क्षीण हुन्छ।

ग्रहणको बेला सुत्न, शौच कार्य गर्न, संभोग गर्नसमेत निेषेध गरिएको छ। गर्भवतीलाई पनि चन्द्रग्रहण हेर्न दिन नहुने परम्परा छ।

६ महिनापछि अर्को ग्रहण
सन् २०१८ को यो पहिलो चन्द्रग्रहण हो। अर्को चन्द्रग्रहण ६ महिनापछि देखिनेछ।