काठमाण्डाै जिल्लाका अावेदकहरूलार्इ अाज ट्याक्सी नम्बर दिइने

चन्द्रागिरि ।

बुधबारदेखि यातायात व्यवस्था विभागले ललितपुरको च्यासलमा गोलाप्रथाद्वारा प्रणालीद्वारा सरकारले भूकम्पपीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराएको कार्यक्रम अाज सकिँदै छ । अन्तिम दिन शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितलाई ४ सय ९६ वटा ट्याक्सी नम्बर गोलाप्रथाबाट वितरण गरिनेछ ।

जसमा काठमाडौँ जिल्लाका भूकम्प प्रभावितलाई ९५ थान, ललितपुरलाई ७२, भक्तपुरलाई ४३, मकवानपुरलाई ३१, धादिङलाई एक सय १७, ओखलढुङ्गालाई ३०, गोरखालाई ७८ र रसुवालाई जम्मा ३० थान ट्याक्सी नम्बर पर्नेछन् ।

गत वर्ष साउन महिनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न आवेदन माग गरेको थियो । दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा जिल्लाका १ लाख ४८ हजार भन्दा बढिले नयाँ ट्याक्सीको लागि अावेदन बुझाएका थिए ।

सरकारले २०७२ वैशाखको भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका परिवारलाई सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा गरेअनुसार गोलाप्रथाबाट भूकम्पपीडितलाई १५ सय ट्याक्सीको नम्बर प्लेट  वितरण गर्ने कार्यक्रम तय भएअनुसार गोलाप्रथा गरिएको हो ।

भूकम्पप्रभावित १५ सय परिवारले ट्याक्सी नम्बर पाएपछि बैङ्कमार्फत गर्ने वा आफै पैसा लगानी गर्ने कुरामा भने स्वयम् व्यक्तिहरू स्वतन्त्र रहेको विभागले जनाएको छ । विभागका अनुसार ट्याक्सी नम्बर पाइसकेपछि ट्याक्सी किन्ने काम स्वयम् परिवारको हो ।  ट्याक्सी नम्बरका लागि सबैभन्दा धेरै सिन्धुपाल्चोक जिल्लाबाट २५ हजार भूकम्पप्रभावित परिवारले आवेदन दिएका थिए भने सबैभन्दा कम रसुवा जिल्लाबाट २९ सय जनाले आवेदन दिएको विभागले जनाएको छ ।