बाहिरी चक्रपथ, विभिन्न ६ स्थानबाट एकैपटक काम सुरु हुँदै

चन्द्रागिरि ।

उपत्यकाको बाहिरी चक्रपथको पहिलोखण्ड निर्माणको काम अगाडि बढाउने तयारी गरिएको छ । यसका लागि बाहिरी चक्रपथ विकास आयोजनाले आगामी एक साताभित्र १३ हजार सात सय ६४ कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ ।

कीर्तिपुर र चन्द्रागिरि नगरपालिकामा पर्ने यो खण्ड विभिन्न ६ स्थानबाट एकैपटक काम सुरु हुँदैछ । सरकारले १३ वर्ष अगाडिनै निर्माण गर्ने औपचारिक घोषणा गरेको यो बाटोको मूर्त रूप दिने काम पहिलो खण्डको ६ किलोमिटरको ६ ठाउँबाटै हुँदैछ । सरकारले २०६१-०६२ बाट सुरु गरेको यो आयोजनाको पहलिो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएर भौतिक विकास नै अगाडि बढाउने गरी राजपत्रमा सूचना जारी भएको सापकोटले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार चोभार, भत्केपाटी, मच्छेगाँउ, सतुगङ, गुर्जुधारा र धवलागिरि आवास आसपासका विभिन्न ६ स्थानबाट एकैपटक बाहिरी चक्रपथ निर्माण सुरु हुँदैछ । एउटा खण्डभित्र पनि हरेक १÷१ किलोमिटरको ब्लक हुनेछ । हरेक ब्लकमा आगामी असारभित्र छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेर भौतिक निर्माणको काम अगाडि बढाउने तयारीमा आयोजनाको छ ।

यो खण्ड निर्माण गर्न करिब ६ अर्ब २० करोड रुपैयाँ खर्च हुने अनुमान आयोजनाले गरेको छ । निर्माण प्रक्रिया अगाडि बढाउने सरकारी निर्णय नै ढिलो भएकोले १० वर्ष अगाडि आठ हजार कित्ता मात्रै रहेको यो क्षेत्रको जग्गामा हाल १३ हजार ७६४ कित्ता पुगेको छ । त्यतिबेला जम्मा १४ वटा मात्रै घरपरिवारलाई स्थानान्तरण गर्नुपर्ने भए पनि अहिले करिब दुई सय वटा घर पुगिसकेको आयोजनाले जानकारी दिएको छ । १० वर्ष अगाडि जम्मा दुई अर्बको लागत अनुमान रहको यो खण्ड निर्माण चरणमा जाँदा महँगी र बजार बढेका कारण करिब ६ अर्बको लागतमा अनुमान पुगिसकेको छ ।

स्थानीयलाई विस्थापित नगर्ने

आयोजनाका अधिकृत सापकोटाका अनुसार यो आयोजनाले कसैलाई विस्थापित गर्दैन र कुनै पनि नागरिक सुकुम्बासी पनि हुनु पर्दैन । अहिलेको तुलनामा बाहिरी चक्रपथ बनेपछि १० गुणाले मूल्य बढ्ने यो क्षेत्रका घरजग्गा दुई वर्षपछि फिर्ता गर्दा समान व्यवहार हुने उहाँले बताउनुभयो । उहाँका अनुसार ५० मिटरको मूल सडकमा पर्ने घरको लागि सरकारले तत्कालै उचित क्षतिपूर्ति दिएर स्थानान्तरण गर्ने भएको छ ।

जग्गा विकास गरिसक्दा र व्यवस्थित प्लटिङपछि पनि कम्तीमा चार आनाको जग्गा हुने भएको छ । चार आनाभन्दा कम हुनेका लागि सहुलियत दरमा थपेर दिइनेछ भने यो अयोजनाका लागि गर्नुपर्ने जग्गाको योगदान सबैलाई समान रूपमा गरिने पनि उल्लेख छ । यो योजनका लागि सबै स्थानीयले बाटो बनाउन न्युनतम पाँच प्रतिशत जग्गा पूर्वाधार निर्माणमा योगदान गर्नुपर्छ भने सात दशमलव आठ प्रतिशत जग्गा बाहिरी चक्रपथ निर्माण गर्न योगदान गर्नुपर्छ ।

काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर बन्ने ७२ किलोमिटरको यो बाहिरी चक्रपथकै लागत पनि बढेको छ । २०६४ सालमा गरिएको लगत अनुमान करिब २४ अर्ब मात्रै भए पनि अहिले भने ७२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । १० वर्षमा बढेको महँगी, जग्गाको भाउ, प्रविधि र विदेशी मुद्रा विनिमयसहितको सम्पूर्ण पक्षबाट भएको मूल्यांकनले यो आयोजनाको लागत झन्डै तेब्बर हुन पुगेको हो ।

चक्रपथ १२ वटा खण्डमा

बाहिरी चक्रपथको पूर्ण दूरी ७२ किलोमिटर भने १२ वटा खण्डमा तयार हुँदै छ । हरेक खण्ड ६किलोमिटरका दरले १२ वटासम्म प्याकेज निर्माण हुने उल्लेख छ । यो आयोजनका लागि हरेक चरणको काम सुरु भएको दुई वर्षमा पूरा हुने पनि उल्लेख छ । अहिले पहिलो चरणको भएको जम्मा ६ किलोमिटरको मात्रै दूरीमा काम भएको छ । अर्को वर्ष दुईभन्दा बढी खण्डमा एकैपटक काम हुने पनि आयोजनाको भनाइ छ ।

यो आयोजनामा चार वटा फ्लाइओभर हुन्छ । आयोजना सुरू भएको १० वर्षमा सबै ७२ किलोमिटरकै दुरीको निर्माण पूरा हुने उल्लेख छ । फ्लाइ ओभरमा पूर्वमा अरनिको राजमार्ग, पश्चिममा त्रिभुवन राजपथ, दक्षिणमा फास्टट्र्याक र उत्तरमा केरुङ जाने बाटोमा हुनेछ ।

५० मिटरको आठ लेन सडक

यो बाहिरी चक्रपथ निर्माण हुँदा ५० मिटरको आठ लेनको सडक हुनेछ । बाटोको केन्द्रबाट दायाँबायाँ २५०÷२५० मिटर दायाँ बायाँको जग्गा अधिग्रहण हुँदैछ । सडकको दाया बायाँको उक्त जग्गामा ११ मिटर, आठ मिटर र ६ मिटरको बाटो हुन्छ । यसका कारण यो क्षेत्र व्यवस्थित वस्तिसहितको आकर्षक घडेरी पनि हुन्छ ।

सडकका लागि बाहिरी चक्रपथ विकास आयोजनाले आगामी एक साताभित्र १३ हजार सात सय ६४ कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ । – अन्नपूर्ण पोस्टबाट