बैंकहरुले बचत खाताको ब्याज बढाए, केहि बैँकले दिए ८ प्रतिशत

काठमाण्डाै, वैशाख ९ ।

यसअघि बचत खातामा ब्याजदर बढाउन आनाकानी गर्ने बैंकहरुले पछिल्लो पटक नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थापछि धमाधम बचतको ब्याजमा पनि वृद्धि गरेका छन् । बैंकहरुले अहिले बचत खातामै ८ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।

अधिक तरलता न्यूनीकरण गर्न यसअघि मुद्दतीमा १२ प्रतिशत ब्याज दिइरहँदा बैंकहरुले बचतमा बढीमा ४ प्रतिशतसम्म ब्याज दिएका थिए । पछिल्लो पटक नेपाल राष्ट्र बैंकले बचत खाताको ब्याजभन्दा बढी कल डिपोजिट खातामा ब्याज लिन नपाउने व्यवस्था गरेपछि बैंकहरु बचतको ब्याज बढाउन बाध्य भएका हुन् ।

लगानीयोग्य पुँजीको अभाव झेलिरहेका बैंकहरुले नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थापछि बचत खातामा उच्च ब्याज दिन थालेका हुन् । कतिपय बैंकहरुले बचतको नयाँ स्किम ल्याएर ब्याज वृद्धि गरेका छन्, भने कतिपयले पुरानै स्किममा ब्याजदर परिवर्तन गरेका छन् ।

हेरौं कुन बैंकले कति दिन्छन् ब्याज
बैंक                             ब्याजदर
एनआईसी एसिया           ८ प्रतिशतसम्म
सेञ्चुरी कमर्सियल          ८ प्रतिशतसम्म
सिभिल                       ७ प्रतिशतसम्म
एनसीसी बैंक                ६ प्रतिशतसम्म
लक्ष्मी बैंक                   ६ प्रतिशतसम्म
सनराईज बैंक               ५.५ प्रतिशतसम्म
एनएम बैंक                  ५ प्रतिशतसम्म
सिद्धार्थ बैंक                 ५ प्रतिशतसम्म
सानिमा बैंक                 ५ प्रतिशतसम्म
मेगा बैंक                     ५ प्रतिशतसम्म
कुमारी बैंक                  ५.५ प्रतिशतसम्म
ग्लोबल आईएमई बैंक       ४.७५ प्रतिशतसम्म
नेपाल इन्भेष्टमेन्ट बैंक        ४.५ प्रतिशतसम्म
माछापुच्छ« बैंक              ४.५ प्रतिशतसम्म
प्रभु बैंक                       ४ प्रतिशतसम्म
नबिल बैंक                     ४ प्रतिशतसम्म
प्राइम बैंक                     ४ प्रतिशतसम्म
राष्ट्रिय वाणिज्य बैंक           ४ प्रतिशतसम्म
हिमालयन बैंक                 ३.७५ प्रतिशतसम्म
एनबी बैंक                      ३.५० प्रतिशतसम्म
जनता बैंक                      ३.५ प्रतिशतसम्म
बैंक अफ काठमाण्डू           ३.५० प्रतिशतसम्म
नेपाल बैंक                       ३.२५ प्रतिशतसम्म
एभरेष्ट बैंक                       ३.२५ प्रतिशतसम्म
कृषि विकास बैंक                ३.०५ प्रतिशतसम्म
स्याण्डर्ड चार्टर्ड बैंक             २.७५ प्रतिशतसम्म
एसबिआई बैंक                   २.७५ प्रतिशतसम्म
सिटीजन्स बैंक इन्टननेशनल     २.५० प्रतिशतसम्म

बचत खातामा सबैंभन्दा बढी ब्याज दिने एनआईसी एसिया बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेका छन् । यी दुई बैंकले ८ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेका हुन् ।

एनआईसी एसिया बैंकले नयाँ स्किम समुन्नती खाता अन्तर्गत शुन्य मौज्दातमा ८ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले नयाँ वर्षको नयाँ सौगात नारा सहित बचत खातामा नै ८ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । सीमित अवधिका लागि मात्रै उक्त योजना अघि सारेको बैैंकले जानकारी दिएको छ ।

त्यस्तै ७४ दिने मुद्दती योजनामा १२ प्रतिशत ब्याज दिएको सिभिल बैंकले विभिन्न खाले बचत खातामा ५ देखि ७ प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गरेको छ । त्यस्तै एनसीसी बैंकले पनि ६ प्रतिशतसम्म ब्याज दिएको छ । बैंकले नयाँ वर्षसँगै सञ्चालनमा ल्याएको उत्सव बचत खातामा वार्षिक ६ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

बचत खातामा उच्च ब्याज दिन थालेपछि बैंकमा निक्षेप संकलन हुने बैंकहरुको विश्वास छ । यसअघि मुद्दतीको आकर्षक ब्याजमा तानिएका खातावालहरु पनि आफ्नो बचत खातामै आकर्षक ब्याज पाउनेभएपछि त्यतातिर नजाने र सीमित खातावालबाट निक्षेप तानेका बैंकहरुलाई पनि लाखौंलाख आम खातावालबाट नै डिपोजिट बढ्दा निक्षेप बढी संकलन हुने देखिन्छ ।

अधिकांश सर्वसाधारणको बचत खाता हुने भएकाले यसमा ब्याज नबढाउँदा बचतकर्ताले केही राहत पाउनेछन्, भने बैंकको निक्षेपमा पनि वृद्धि हुने छ । तर निक्षेपको ब्याजदरनै वृद्धि भएपछि कर्जावालालाई ब्याजको भार बढी पर्ने देखिन्छ ।