
विष्णु पाण्डेय
काठमाडौं, माघ १२ गते । नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम रोकिएको छ । गृह मन्त्रालयले अवैध क्रसर उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै काम पनि रोकिएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका प्रमुख माधवप्रसाद अधिकारीले बताउनुभयो ।
सरकारले अवैध क्रसर उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै टनेलको काम नै रोकिएको उहाँको भनाइ छ । क्रसर उद्योग व्यावसायीहरुले ढुवानी नै बन्द गरेपछि काम नै रोकिएको हो ।
गृह मन्त्रालयले पुस २० गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै अवैध उद्योगहरु बन्द गर्न आग्रह गरेको थियो । जसअनुसार ७०० बढी क्रसर उद्योगहरु बन्द भएका छन् ।
व्यवसायीहरु भने सरकारले मापदण्ड विपरीत क्रसर उद्योग बन्द गरेको बन्दै विरोध जनाएका छन् । ढुवानी नै ठप्प गरेका छन् । उहाँले भन्नुभयो, “सरकारले अवैध क्रसिङ् उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै ढलान गर्नुपर्ने सबै कामहरु रोकिएको छ । टनेल खन्ने मुख्य काम नै रोकिएको छ ।”
क्रसर उद्योगहरु बन्द हुँदा गिट्टी, बालुवा तथा रोडाजन्य सामग्रीको प्रयोगबाट हुने अन्य कामहरु सबै रोकिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “दैनिक दुई सिफ्टमा काम भइरहेको थियो ।हामीले वैध क्रसर उद्योगबाट नै गिट्टी बालुवा ल्याएका थियौँ । तर, व्यवसायीहरुले ढुवानी बन्द गर्दा काममा नै बाधा उत्पन्न भयो ।”
ढुवानी सहज बनाउन सरकारसँग आग्रह गरिएको पनि उहाँको भनाइ छ । निर्माण सामग्री अभावमा काम रोकिन पुगेपछि ठेकेदार कम्पनीले सरकारसँग क्षतिपूर्ति माग्न सक्ने पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “निर्माण समग्रीको अभावमा काम रोकिएपछि कामदार खाली बस्नुपर्ने अवस्था उत्पन्न भएपछि त्यसबापत उनीहरुले क्षतिपूर्ति माग्छन् त्यो हामीले दिनुपर्छ ।”
निर्माणका लागि आवश्यक पर्ने गिट्टी बालुवा तथा रोडा धादिङ्बाट ल्याउने गरिएको उहाँको भनाइ छ । मुख्य काम रोकिए पनि फ्लाइ–ओभरको केही काम भने सञ्चालन भइरहेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “मुख्य काम रोकिए पनि गिट्टी, बालुवा बाहेकका कामहरु भने रोकिएका छैनन् । फलाइ–ओभरको काम भने भएको छ । तर मुख्य काम नै बन्द हुँदा काममा प्रगति नै देखिएको छैन ।”
कति भयो काम ?
नौविसे नागढुङ्गा सुरुङ्मार्गको भौतिक तर्फ ४६.६ प्रतिशत प्रगति भएको छ भने वित्तीयतर्फ ४८.८३ प्रतिशत प्रगति भएको छ ।
निर्माण कार्य सकिन पाँच महिना मात्र बाँकी रहँदा काम आधा पनि सम्पन्न भएको छैन । यस आयोजनाको म्याद आगामी जेठ महिनामा सकिन्छ ।
आयोजन प्रमुख अधिकारीका अनुसार आयोजना तोकिएकै समयमा सम्पन्न नहुने भएपछि म्याद थपको लागि पत्राचार गरिएको पनि उहाँको भनाइ छ । यो आयोजना जापानको हाज्मा (आन्द्रो जेभी) ले निर्माणको जिम्मा पाएको हो।
आयोजनाअन्तर्गत टनेलतर्फको काम भने ७० प्रतिशत सकिएको छ। कुल दुई हजार ६८८ मिटर लम्बाई हुने मुख्य टनेल पूर्व र पश्चिमतर्फ गरेर कुल एक हजार ७११ मिटर खनिसकिएको छ । दुई हजार ५७७ मिटर इमर्जेन्सी टनेलमध्ये एक हजार ९४८ मिटर खनिसकिएको छ।
यस्तै, १२८ मिटर दुई टनेललाई जोड्ने बाटोमध्ये ७४.२ मिटर बाटो खनिसकिएको छ । जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋण र नेपालको सरकारको ६ अर्ब गरेर कुल २२ अर्ब लागत अनुमानमा सुरुङमार्ग निर्माण भइरहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।