ग्यास दुघर्टनाबाट बच्न अपनाउनुहोस् ९ सावधानी

सहरी क्षेत्रमा खाना पकाउनका लागि ग्यास अनिवार्य बनिसकेको छ । पछिल्लो समय त गाउँगाउँमा समेत ग्यास लिएर राख्ने प्रचलन बढ्दो छ । तर, सही ढंगले ग्यासको प्रयोग नगर्दा यसले ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ । बुधबार मात्र पनि वीरगन्जको सुपर ग्यास उद्योगमा ठूलो आगलागी भएको छ । ग्यास अति प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा सावधानी अपनाउन जरुरी छ । यसबारे कस्ता सावधानी अपनाउने त ?

१. अहिले बजारमा प्लास्टिकका ग्यास पाइप प्रशस्त मात्रामा पाइन्छन् । यस्तो पाइप सस्तो हुने भएकाले धेरैले प्रयोग गर्ने गरेको पनि पाइन्छ । तर, ग्यासमा प्लास्टिकको नभई रबरको पाइप प्रयोग गर्नुपर्दछ । यो बलियो र छिटो नजल्ने हुन्छ । ग्यास पाइपलाई मुसालगायतले नकाटोस् भनी फलामको रिङले अनिवार्य रूपमा बेर्नुपर्छ र यस्तो पाइप प्रत्येक दुई वर्षमा परिवर्तन गर्न आवश्यक छ ।

२. बजारमा गुणस्तरहीन रेगुलेटरको पनि बिगबिगी छ । त्यसैले, नेपाल गुणस्तर चिह्न अंकित रेगुलेटर मात्र प्रयोग गर्नुपर्दछ । नेपालमा सीमापारिका गुणस्तरहीन रेगुलेटर भित्रिरहेका छन् । यस्ता रेगुलेटरको बिक्रीमा सरकारले पनि बन्देज लगाउन आवश्यक छ ।

३. कहिल्यै पनि कुच्चिएको ग्यास सिलिन्डर प्रयोग गर्नुहुँदैन । सिलिन्डरको म्याद नाघेको छ वा छैन भन्ने विषयमा पनि धयान दिन जरुरी हुन्छ । प्रत्येक १० वर्षमा सिलिन्डरको टेस्ट गरी छाप लगाइएको हुन्छ । यस्ता कुरालाई विशेष ध्यान दिन जरुरी हुन्छ ।

४. ग्यास खरिद गर्दा पनि विभिन्न कुरामा ध्यान दिनुपर्दछ । विक्रेता प्रमाणीकरण गरिएको कम्पनीको आधिकारिक डिलर, डिलरका लागि स्वीकृति दिइएका र सरकारी मापदण्ड पूरा भएका ठाउँबाट मात्र ग्यास खरिद गर्नुपर्छ । सकेसम्म फायरफाइटिङ, तराजु मेसिन अनिवार्य भएको डिलरबाट ग्यास किन्दा जोखिम कम हुन्छ ।

५. व्यावसायिक घरानाहरूमा आवश्यक मापदण्ड बनाई त्यसअनुरूप ग्यासको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्ता घरानामा अत्यधिक रूपमा ग्यास खपत हुने भएकाले सम्भावित घटनालाई कम गर्नका लागि अक्सिजन र ग्यास ब्यालेन्स गरेर मात्र प्रयोग गर्नुपर्दछ ।

६. घरमा खाना पकाउँदा झ्याल खुला राख्नुपर्छ । ग्यास प्रयोग गर्ने मानिसले एप्रोन वा सुतीको कपडा प्रयोग गर्दा राम्रो हुन्छ ।

७. सधैँ भान्सामा सेफ्टी क्याप राख्नुपर्छ । ८–१० रुपैयाँमा नै बजारमा सेफ्टी क्याप पाइन्छ तर यसले सम्भावित दुर्घटनाबाट बचाउँछ । ग्यास लिकेज हुनेलगायतका समस्या आउँदा यसको भूमिका निकै ठूलो हुन्छ ।

८. जहिले पनि चुलो सिलिन्डरभन्दा माथि राख्नुपर्छ । कहिल्यै पनि सिलिन्डर घोप्ट्याएर ग्यास प्रयोग गर्नु हुँदैन । यसो गर्दा सिलिन्डरमा भएको लेदोले चुला टालिन सक्छ र विस्फोटसमेत हुन सक्छ ।

९. रेगुलेटर अफ गरिसकेपछि मात्र चुलो अफ गर्नुपर्छ । घरबाहिर निस्कँदा रेगुलेटर निकाली सेफ्टी क्याप लगाउने बानी गर्नुपर्छ ।