
महानगरीय प्रहरी प्रभाग बलम्बुले ‘टोल टोलमा प्रहरी’ अभियान अन्तर्गत सप्ताहब्यापी ट्राफिक सचेतना अभियान सुरू गरेको छ ।
प्रहरी प्रभाग बलम्बुले ‘ट्राफिक नियमको पालना प्रहरीको आँखा छल्न मात्र होइन’ भने नाराका साथ हस्ताक्षर संकलन अभियानका साथै ट्राफिक सचेतना अभियान सुरू गरेको हो ।
राजधानीको चन्द्रागिरिमा मोटरसाईकलमा तीन जना बस्ने, हेलमेट नलगाई सवारी साधन चलाउने सम्बन्धी एकहप्ते सचेतना अभियान सुरू गरेको महानगरीय प्रहरी प्रभागकी प्रहरी निरिक्षक शर्मिला गुरूङले बताइन् ।
ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने चालकहरुबाट स्वत स्फुर्त रुपमा गल्तीको आत्मसात गराइ आगामी दिनमा ट्राफिक नियमको पालना गर्ने प्रतिबद्धता ब्यक्त गर्ने उदेश्य सहित सप्ताहब्यापी हस्ताक्षर संकलन अभियान सुरु भएको निरिक्षक गुरूङले जानकारी दिएकी हुन् । जसअन्तर्गत सवारी चालकहरुले प्रहरीको उपस्थिति वा अनुपस्थिति जहाँ पनि ट्राफिक नियमको पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।
चन्द्रागिरिको दहचोक, वोसी गाउँ, मातातिर्थ, सतुङ्गल, गुर्जुधारा, बलम्बु, नैकापलगायतका स्थानहरूमा यो अभियान सुरु गरिएको हो ।
उक्त क्षेत्रमा बिहान ९ देखी ११ बजे सम्म र अन्य स्थानमा भने बिहान १० देखी १२ बजे सम्म यो अभियान सञ्चालन भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना न्युनिकरणका लागी यस्ता अभियानले नागरिकहरूमा चेतना बढ्ने , ट्राफिक नियमको उल्लंघन गर्दा हुने क्षतिको बारेमा जानकारी हुने र दुर्घटना कम हुनेमा स्थानियहरू खुशी छन् ।