चन्द्रागिरी नगरपालिकामा सबै सेवा : निशुल्क

काठमाडौँ, भदौ १ । तत्कालीन सरकारले करवृद्धि गरेको भन्दै स्थानीयबाट चर्को विरोध भइरहँदा चन्द्रागिरी नगरपालिका वडा नम्बर २ र १५ ले सबै सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

चन्द्रागिरी नगरपालिकाले अभिलेख राख्नुपर्ने जन्म, मृत्यु, विवाह दर्ता लगायतका सेवालाई निःशुल्क गरेको हो । चन्द्रागिरी नगरपालिका दुई वडा कार्यालयले सूचना जारी गर्दै विभिन्न सिफारिस दर्ता वापत लाग्ने दस्तुर निः शुल्क गरेको जानकारी गराएको हो ।

चन्द्रागिरी नगरपालिका १५ तिनथानाका वडाध्यक्ष उत्तम बहादुर राउत र वडा नं २ वाडभन्ज्याङ्गका वडाध्यक्ष गोपी सुर्खेतीले पञ्जिकरकण गर्नैपर्ने व्यक्तिगत घटनादेखि सिफारिश सम्मलाई निःशुल्क गरिदिएका हुन् ।

वडा कार्यालयबाट जारी सार्वजनिक सूचनामा नागरिकताको प्रमाणपत्रको सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाई सराई दर्ता, सम्बनध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश र स्वास्थ्यसम्बन्धि सिफारिशलाई निःशुल्क गरिएको छ भने मृतकसँगको नाता प्रमाणितमा ३ सय १० रुपैयाँ शुल्क लिइने निर्णय गरिएको छ ।

घटना दर्ता (जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्धविछ्येद ३५ दिनभित्र नभएमा भने त्यसपश्चात जरिवाना स्वरुप २५ रुपैयाँ तिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

चन्द्रागिरी नगरपालिकाको नगर सभा बाट पारित आ.ब.०७५–०७६ को आर्थिक ऐन मा सबै वडाहरुमा एकै प्रकारको समान करको दर कायम गरिएको जानकारी गराउँदै चन्द्रागिरी नगरपालिकाका नगरप्रमुखले नगरसभाले पारित गरेतापनि राजपत्रमा उल्लेख नभएसम्म कुनै पनि वडाले यसलाई कार्यान्वयनमा ल्याउन नपाउने बताए ।

उनले नगरपालिकाले यहि भाद्र १५ गतेभित्रै सूचना प्रकाशित गरिसकेपछि मात्र यो कार्यान्वयनमा आउने बताए ।