
बलम्बु नेवारहरुको ठूलो आवादी रहेको प्राचीन वस्ती हो । त्यतिबेला यसलाई ‘शीताटीतल (द्रङ्ग)’ अन्तरगत रहेको र यहाँ प्राप्त संवत् १२९ (वि.सं २०६ ई ) अङ्कित अभिलेखमा ‘गवां लवणदा स्थान’ अर्थात गाईलाई बाटोमा नुन खुवाउने व्यवस्थालाई प्रकाश पारी ‘गौतमाश्रम’ पनि उत्कीर्ण गरिएको छ (इतिहासकार वज्राचार्य ) । त्यसले लिच्छविकालमा बलम्बु बस्तीलाई गौतमआश्रम मानिएको बुझिन्छ । ‘मध्यकालको प्रारम्भमा यस ठाउँलाई ‘भार्त्यपुरी’ र ‘भार्त्यनगर तथा पछि गएर वलबु र वलंबु भन्न थालिएको थियो’ (उनै वज्राचार्य ) ।
स्थानीय जनमानसमा भने ‘बलम्बु ‘यस अर्थमा भनिएको हो भन्ने तर्क छ । बलम्बु पहिला पाटन .ललितपुर इलाका भित्र पर्ने भएकाले ललितपुर राज्यका राजाले यस गाउँको रितिरिवाज र चाडपर्व चलाउन पाँच जनाको एउटा समुह बनाई खटाएका थिए । राजाबाट खटाइएका ती पाँच जनाको समुहलाई ‘बलाम काजी’ भनिन्थ्यो । उनीहरु यहाँ आई कछलाथ्व (कार्तिकशुक्ल ) अष्टमीका दिन महालक्ष्मी र कुमारी जात्रा चलाउने थिति बसालेका थिए । त्यसबेला देखि बलम्बुमा कार्तिक दशमीका दिन महालक्ष्मीदेवीको जात्रा आजसम्म निरन्तर चल्दै आएको छ । जात्रा चलाउने ‘बलाम काजी’ बसेको स्थान भएकोले यस ठाउँको नाम बलम्बु भनिएको भन्ने जनश्रुति पाइन्छ । त्यस्तै अर्को भनाइमा यस क्षेत्रमा बलामीजातिहरूको अधिक बसोबास भएको क्षेत्र भएकोले पनि बलम्बु नाम रहन गएको भनिन्छ ।
नगरपालिका हुनु अघि यो बलम्बु गाउँ विकास समितिका रुपमा रहेको थियो । कीर्तिपुर जस्तै बलम्बु बस्ती पनि उतिबेला चारैतिरबाट घेरिएको र भित्र प्रवेश गर्ने द्धारहरु रहेको थियो । स्थानीहरूको भनाइ अनुसार पूर्वीद्धार पपिननी, पश्चिमद्धार हिरगचमा टोल, उत्तरमा गछें टोल र दक्षिणको कुमारी टोलमा थियो । हाल यि द्धारहरु केही भग्नावशेष रुपमा देखिन्छन् ।
-गोपीचन्द्र कार्कीको प्रकाशोन्मुख पुस्तक ठाउँका नाम बारेबाट ।
तस्बिर:- धर्मेन्द्र महर्जन