उपभोक्ता ठगी गर्ने १ सय ३३ व्यवसायी कारबाहीमा

चन्द्रागिरि ।

सरकारले उपभोक्ता ठगी गर्ने १ सय ३३ व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको छ । कारबाहीको दायरामा परेकाहरूमा मासु पसल, फार्मेसी, पेट्रोलपम्प र सवारी साधन सञ्चालक रहेका छन् । यसमा सवारी साधन मात्रै १ सय २१ वटा रहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले जनाएको छ । संरक्षण विभागको संयोजकत्वमा सातायता जारी विशेष अनुगमनमा ८ फर्ममा सिलबन्दी र ४ वटामा कारोबार रोक्का गरिएको छ ।
२३ गतेबाट सुरु विशेष अनुगमनमा २० वटा दुग्ध तथा खानेपानी व्यवसाय, ४५ माछा/मासु पसल तथा बधशाला, ५३ औषधि/फार्मेसी तथा स्वास्थ्य क्लिनिक, ७० होटल, मिठाई तथा खाद्य, १८ पेट्रोलियम पदार्थ ग्यास तथा निर्माण सामग्री र २ सय ४७ यातायात क्षेत्रमा अनुगमन गरेको थियो । त्यसक्रममा बढी कैफियत भेटिएको १२ व्यावसायिक फर्ममा सिलबन्दी/कारोबार रोक्का गरेको हो । ७ दिनमा बिग्रेको ४ सय ७२ किलो माछामासु नष्ट गरेको जनाएको छ । अनुगमन टोलीले चन्द्रागिरि मातातीर्थको कविता बेभरेज प्रालिलाई सिलबन्दी गरेको थियो ।

बेभरेज प्रालिले उद्योग दर्तासम्बन्धी कुनै कागजात देखाउन नसकेको, बजारमा पठाउन राखेको २० लिटरको पानीको जारमा उत्पादन मिति नभएको तथा प्रोसेसिङ गर्ने ठाउँ सरसफाइ नभएकाले सिलबन्दी गरेको जनाएको छ । बत्तिसपुतलीको कुमारी आयल स्टोरको एउटा नोजलको पनि कारोबार रोक्का गरेको छ । उक्त पेट्रोल नोजलबाट २५ एमएल कम इन्धन फ्याँकेकाले बिक्री वितरण रोक्का गरेको विभागले जनाएको छ ।