मातातीर्थ (मातृतीर्थ )
काठमाडौं उपत्यकाको दक्षिण पश्चिम भेगमा रहेको ‘मातातीर्थ कुण्ड’ नगरपालिकाभित्र रहनुभन्दा अगि महादेवस्थान गाविसमा पर्दथ्यो । मातातीर्थ कुण्ड नजिकै महादेवको मन्दिर रहेको हुनाले सोही महादेवका नामबाट साविकमा गाउँ विकास समितिको नाम महादेवस्थान रहेको भनिन्छ । त्यस्तै मातातीर्थ कुण्डकै नामबाट साविकमा मातातीर्थ गाउँ विकास समिति पनि कायम रहेको थियो । हाल दुवै चन्द्रागिरि नगरपालिकाभित्र पर्दछ । चन्द्रागिरि पर्वतको काखमा रहेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक रुपले अति महत्वपूर्ण देवस्थलका रुपमा रहेको मातातीर्थ कै नामबाट यस ठाउँको नाउँ मातातीर्थ रहेको पाइन्छ ।
हरेक वर्ष बैशाख कृष्ण औंसीलाई मातृऔंसी अर्थात आमाको मुख हेर्ने औंसीका दिनका रुपमा मनाइन्छ । यस दिन यहाँ ठूलो मेला लाग्दछ । टाढा टाढाबाट मेला भर्न नरनारीहरू आउने गर्दछन् । नुहाउनका लागि कुण्ड रहेको छ । बनकै छेउमा भएकोले यहाँ रहेका सातवटा ढुङ्गेधाराहरुबाट पानी निरन्तर आइरहन्छ । ‘यहाँ ढुङ्गेधारा र जलपोखरी (कुण्ड) राजा जय विष्णु मल्लद्धारा वि.सं.१७९६ मा स्थापित भएको मानिन्छ’ (डा.ऋषिप्रसाद शर्मा ) आमा नहुनेहरुले कुण्डमा आमाको मुख हेर्ने, तीर्थश्राद्ध तर्पण गर्ने तीर्थाटन क्षेत्र भएकोले मातातीर्थको रुपमा प्रसिद्ध छ । यही कारणले यस स्थानको नाम मातातीर्थ रहन गएको हो ।
मातातीर्थको महिमाबारेको एउटा लोककथनचाँहि यस्तो रहेको छ । ‘थानकोट नजिकैको मातातीर्थमा उहिले एकचोटि त्यहाँ गाईबस्तु चराउन लगेका गोठाला केटाकेटीहरुमध्ये एक जनाले त्यहाँ पानी भएको कुण्डमा यसो हेर्न पुग्दा मरिसकेकी आफनी आमाको मुख देखेछ । त्यसपछि उसले खान भनेर बोकेर ल्याएको रोटीको एक टुक्रा त्यहाँ पानीमा खसाल्दा उसकी मरिसकेकी आमाले त्यो रोटी खाइन् । यो कुरा अरु गोठालाहरुले पनि थाहा पाए । त्यसपछि सबले रोटीका टुक्रा कुण्डका पानीमा फाल्न थाले । फलतः आमा हुनेहरुले फालेका रोटीजति कुण्डकै पानीमा डुबे भने आमा नहुनेहरुले फालेका रोटीचाहिँ, आआफ्ना दिवङ्गत भइसकेका आमाहरुले आएर क्वाप्पक्वाप्प खान थाले । यो अद्भुत घटना एक कान, दुई कान भएर सब गाउँलेहरुले थाहा पाए । तर भोलिपल्ट ती आमा नभएका गोठालाहरुले नै रोटी फाल्दा पनि कसैका पनि मरिसकेका आमाहरु त्यहाँ देखा परेनन् । अनि ती दिवङगत आत्माहरु त्यहाँ देखा परेको दिनचाहिँ बैशाख कृष्ण औंसी परेको रहेछ र त्यही बेलादेखि त्यो कुण्डको नाम नै मातातीर्थ रह्यो र प्रत्येक वर्ष बैशाख कृष्ण मातृऔंसीको दिन त्यहाँ ठूलो मेला लाग्न थाल्यो ’ (संस्कृतिविद् एवं शाताब्दी पुरुष सत्यमोहन जोशी) ।
गोपाल बंशको बसोबास भएको क्षेत्र हो यो । अहिले पनि नेवार भित्र ‘ग्वा’ र ‘हले’ भनेर चिनिने ‘सापु’ र ‘मेपु’ अर्थात गाईपालक गोपालबंश र भैंसीपालक महिषपालको बसोवास थानकोट, टिष्टुङ टौखेल, चित्लाङ क्षेत्रका गाउँहरूमा छन् । राइट बंशावली अनुसार गोपालबंशका भुक्तमान देखि यक्ष गुप्तसम्मका ८ राजाले मातातीर्थमा बसी ५२१ वर्ष शासन गरेको कुरा लेखेका छन् ।
गोपालहरु सातजना महिलाहरुको नेतृत्वमा काठमाडौँका सात गाउँमा विभाजित भए – सतुङ्गल, भोसिगाउँ ( बोसिगाउँ ) मच्छेगाउँ, टौखेल, कीर्तिपुर, लोहोङ्कोट र नगम ( पाँगा ) । सम्भवतः यो सातगाउँ काठमाडौँ उपत्यकाको पहिलो बस्ती हुनुपर्छ, जुन नवपाषाण युगको प्रारम्भमा गाई– भैसीपालकहरु स्थिर रुपमा बस्न थालेपछि सुरु भएको हो । त्यसको स्मृतिमा यो सातगाउँ पर्व सुरु भएको हुन सक्छ । महिलाको नेतृत्वमा बस्ती बसेका कारण सात गाउँमा अजिमा ( बजु ) को पूजा हुन्थ्यो । तर,पछि गाईबस्तुहरुको हेरचाह गर्ने पुरुषहरुको भूमिका महत्वपूर्ण हुँदै गएपछि उनीहरु कविला प्रमुख हुने परम्परा सुरु भयो र अजिमाको सटृामा अजुद्य्यो ( बाजे ) हरुको पनि पूजा सुरु भयो ( निरिश नेपाल, रोलम्ब, जनवरी –मार्च १९८३ ) । त्यसपछि काठमाडौँ उपत्यकाको समाज मातृसत्तात्मकबाट पितृसत्तामा गयो ( इतिहासकार भोगीराज चाम्लिङ) ।
यस क्षेत्रमा रहेका बिभिन्न बस्तीहरुमध्ये ‘किसिपिडी’ बस्ती पनि धेरै पुरानो हो । यहाँ लिच्छविकालका अभिलेखहरु प्राप्त भएका छन् । ‘ लिच्छविकालमा यस बस्तीलाई ‘बिचप्रिचिङ्गग्राम’ भनिन्थ्यो, भने मध्यकालमा ‘हस्तीनापुर’ भन्ने चलन चल्यो (धनबज्र बज्राचार्य ) । हस्तीनापुर रहेपनि बढी चलन चल्तीमा आएको नामचाँहि ‘किसिपिडी’ नै हो । किसिपिडी नाम हात्तीसँग सम्वन्धित देखिन्छ । नेपाल भाषामा ‘किसि’ भनेको हात्ती हो । यहाँ पहिले हात्ती पालिन्थ्यो र सरकारी हात्तीका निमित्त यहाँबाट घाँस समेत लानु पर्ने व्यवस्था त्यसबेला थियो भनि बुढापाकाहरु बताउनु हुन्छ । त्यसैले यस ठाउँको नाम किसिपिडी रहेको भनिन्छ ।
काठमाडौं उपत्यका अर्थात नेपाल मण्डलमा नेवार समाजमा पाइने मातृसत्तात्मक संस्कृति युगदेखिनै मानवहरुको बसोवास भएको स्थान मातातीर्थ पनि भएकोले यो मातृसत्तात्मक स्थान हुन सक्छ । मातातीर्थको नाम मातातीर्थ रहनुमा कतै मातातीर्थ क्षेत्रमा माता (महिला) कै नेतृत्वमा समाज चलेका कारण (जस्तै मणिचुरमा बज्रयोगिनीको नेतृत्वमा रहेझैं ) मातातीर्थका नामले त्यस वखत संकेत गरिएको पनि हुनसक्छ ।
गोपीचन्द्र कार्कीको प्रकाशोन्मुख पुस्तक ठाउँका नाम बारेबाट ।
तस्बिर:- प्रकाश गोपाली