“हामीले एक पटक गर्ने विकास निर्माणले सय वर्षसम्म जनताले सम्झिरहनेछन् ।” मुख्यमन्त्री डोरमणी पौडेल

१० असार, काठमाडौं

श्रीहरि थापा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले योजनाबद्ध, आवश्यकताको आधारमा र जनसहभागितामा गरिने विकास दिगो र प्रभावकारी हुने बताएका छन् ।

आइतबार चन्द्रागिरी नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै मुख्य मन्त्री पौडेलले आफ्नो १० वर्षे मेयरको कार्यकाल स्मरण गर्दै भने “हामीले एक पटक गर्ने विकास निर्माणले सय वर्षसम्म जनताले सम्झिरहनेछन् ।”

मुख्यमन्त्री पौडेलले विकासका तीन सुत्र बताउँदै भने पहिलो सुत्र योजना बनाएर विकास गरिनु पर्छ । बिना योजना गरिने विकास समयमै पुरा गर्न कठिनाई हुने त छँदैछ, अनावश्यक ठाउँमा पर्न गयो भने त्यसको औचित्य रहँदैन ।

मुख्यमन्त्री पौडेलले विकासको अर्को सुत्र समानुपातिक विकासको अवधारण सुनाए । उनले सबैलाई बराबर गर्छु भनेर समानुपातिक वितरण नगर्नुस, उनले भने जहाँ आवश्यकता छ त्यहाँ गरिने विकास नै समानुपातिक विकास हो ।

उनले विकासको अर्को सुत्र जनसहभागितालाई जोड दिए । जनताले आवश्यकता महशुस गरेको र उनीहरुको सहभागितामा गरिने विकास दिगो र प्रभावकारी हुने, कम बजेटमा धेरै नमुना काम गर्न सकिने बताउँदै अनुदान हैन, श्रमदानमा आधारित भएर जनसहभागिता जुटाउँदै काम गर्न आग्रह गरे ।

मुख्यमन्त्री पौडेलले मुलुकमा पहिलो पटक बन्न लागेको सुरुङ मार्ग र दोस्रो सुरुङ मार्ग पनि चन्द्रागिरीमै बन्ने भएकाले यसको प्रत्यक्ष लाभ लिन जनप्रतिनिधिलाई अनुरोध गरे । संभावना बोकेको चन्द्रागिरीमा एक मन भएर काम गरे विकासले फड्को मार्ने बताउँदै आफ्नो वडा र टोल केन्द्रित नभई काम गर्न वडा अध्यक्षहरुलाई सुझाव दिए । कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले अध्यक्षता गरेका थिए भने नगरभित्र कार्यक्षेत्र पर्ने संघ तथा प्रदेशसभाका सांसदहरुको उपस्थिति थियो ।