पैदलयात्रीले २ सय रूपैँया तिर्न नपर्ने, सचेतना कक्षा भने लिनैपर्ने

चन्द्रागिरि ।

गृहमन्त्री जनार्दन  शर्माले मंगलबार नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामालाई मन्त्रालयमै बोलाएर जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्ने पैदलयात्रीबाट जरिवाना नअसुल्न निर्देश दिएका छन् । सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीकै भरमा रकम लिइँदा आफूहरुलाई मर्का परेको गुनासो र सर्वत्र विरोध आएपछि यो व्यवस्था हटाएको हो । गृहमन्त्री शर्माले रु २०० जरिवाना उठाउनेभन्दा पनि ट्राफिक शिक्षा दिने काममा जोड दिन आग्रह गरेका थिए । गृहमन्त्री शर्माले भने – ‘रु २०० जरिवाना गरेको भरमा जहाँसुकैबाट बाटो काट्ने प्रवृत्तिको अन्त्य हुन सक्दैन । जरिवाना लिने कार्य तत्काल हटाएर जनचेतना जगाउनेतर्फ लाग्नुस् । बरु आधा घन्टा जथाभावी बाटो काट्नेलाई राखेर शिक्षा दिनुस् । जरिवानाले कसैको पनि हित गर्दैन ।’

जेब्रा क्रसिङ छोडी जथाभावी बाटो काट्ने सर्वसाधारणबाट ट्राफिक प्रहरीले दुई सय रुपैयाँ जरिवाना असुल्दै आएको थियो । ट्राफिक सचेतना कार्यक्रम जारी राख्दै मंगलबारबाट जरिवाना मात्रै हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जरिवाना नतिर्ने सर्वसाधारण ३ घण्टा ट्राफिकको नियन्त्रणमा रहनुपर्थ्यो ।
बढ्दो सवारी र सडक दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले गत जेठ १६ गतेदेखि जरिवाना र सजायको व्यवस्था लागू गरेको थियो ।