चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं, १५ पुस । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारा काठमाडौ आयल स्टोर नजिक टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् ।

महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षक खेमराज राउतका अनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको राउतले बताउनुभयो ।

उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।

तस्बीर : रामनारायण घिमिरे