पत्नीको उपचार गर्न प्रचण्ड अमेरिका जाँदै

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (आइतबार) अमेरिका जाँदै छन् ।

पार्टी एकताकाे टुङ्गो लाग्न बाँकी कामहरु र मन्त्री परिषद पुनर्गठनकाे सम्भावनाका कारण अमेरिका जान अलमल मानिरहेका प्रचण्ड अन्तत: पत्नी सीता दाहालको उपचारका लागि आज साँझ अमेरिका जान लागेको प्रचण्ड सचिवालयले जनाएको छ ।

प्रचण्डसँगै उनका छोरीज्वाइँ गंगा दाहाल र जीवन आचार्य पनि अमेरिका जाने बताइएको छ ।

यसअघि सीता दाहाललाई भारत र सिंगापुरका अस्पतालमा उपचारका लागि लगिएको भए पनि निको नभएपछि अहिले उपचारका लागि अमेरिका लैजान लागिएको हाे ।

सीता दाहाललाई पार्किन्सन भएको चिकित्सकले जनाएका छन् । छोरा प्रकाशको निधनपछि थप मानसिक आघातमा परेकी सीताको गत असोजमा सिंगापुरमा उपचार भएको थियो । उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छन् ।