३२ करोड लागतमा क्षमता विस्तार गर्दै महादेवस्थान खानेपानी

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिकास्थित महादेवस्थान–मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । साबिक महादेवस्थान गाविस क्षेत्र भित्र विगत ८ वर्षदेखी खानेपानी वितरण गर्दै आएको समितिले नेपाल सरकार सहलगानी खानेपानी तथा सरसफाई आयोजनासँग ३२ करोड ६२ लाख ७२ हजार छयालीस रुपैँया लागतको आयोजना सञ्चालन गर्न सम्झौता गरेको हो ।

शनिबार आयोजित विशेष कार्यक्रमका बीच क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाण्डौका सिडिई हरि प्रसाद तिमल्सिना र खानेपानी संस्थाका अध्यक्ष सूर्य नारायण मानन्धरले सम्झौता पत्र आदान प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै सिडिई तिमल्सिनाले महादेवस्थान–मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समिति काठमाण्डौ जिल्लामा सहलगानी आयोजना भित्र्याउने पहिलो उपभोक्ता समिति रहेको बताए ।

उपभोक्ता संस्थाले सहलगानी आयोजना अन्र्तगत थप ३ हजार घरमा धारा जडान वितरण गर्नेछ जसका लागि आवश्यक पर्ने पानीको श्रोत पहिचान, पानी भण्डारण स्थल, पानी प्रशोधन केन्द्र लगायतका अत्याधुनिक संरचनाहरु निर्माण गरिने उपभोक्ता संस्थाका अध्यक्ष मानन्धरले जानकारी दिए, हाल समितिले २ हजार १ सय धारा मार्फत दैनिक १२८० घनमिटर पिउने पानी वितरण गरिरहेको छ ।

आयोजना सञ्चालन गर्नका लागि उपभोक्ता समितिले कुल लागत रकमको ३० प्रतिशत रकम मध्ये पाँच प्रतिशत रकम (रु. १ करोड ६३ लाख १३ हजार २ रुपैँया ३ पैसा) बैँक दाखिला गरेपछि निर्माण कार्यका लागि टेण्डर आह्वान गरिने कार्यक्रममा जानकारी दिइयो । आयोजना निर्माण भएपश्चात चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६, ७ का ५ हजार घरहरुमा २४ सै घण्टा पानी वितरण गरिने र यस आयोजना सन् २०३८ सम्मका लागि डिजाइन गरिएको परामर्शदाता संस्था इटेकोका हरि ढकालले जानकारी दिए ।

सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका प्रमुख विद्यानाथ भट्टराईका अनुसार सहलगानी आयोजना सञ्चालन गर्नका लागि ३० प्रतिशत रकम उपभोक्ता संस्था र ७० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने नीति रहेको छ । सो नीति अनुसार महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले रु. ९ करोड ७८ लाख ८१ हजार ६ सय १३ रुपैँया ८७ पैसा जुटाउनु पर्नेछ ।

उपभोक्ताहरुको साथ पाए सो रकम जुटाउन कुनै समस्या नहुने धारणा राख्दै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले यस आयोजना सफल रुपमा सम्पन्न गर्न नगरपालिकाले सक्दो सहयोग पु¥याउने बताए ।