बिपी राजमार्गमा १० टन भन्दा धेरै लोडका सवारी चलाए कारबाही हुने

चन्द्रागिरि ।

विपी राजमार्गमा मापदण्ड विपरीतका सवारीसाधनको आवगमनले भविष्य संकटमा पर्न थालेको छ। प्राविधिक अध्ययनले सिफारिस गरेको मापदण्ड विपरीत गाडीहरुको आवातजावत बढेपछि सडक भासिने खतरा आउनसक्ने भन्दै विभागले मापदण्ड विपरीतका कुनै पनि सवारी साधन नगुडाउन सरोकारवालाहरुलाई सचेत गराइएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए।

जापान सरकारको सहयोगमा निर्माण गरिएको यो सडक जाइकाले बनाएको थियो। राजमार्ग निर्माण भएर सरकारलाई हस्तान्तरण हुँदै गर्दा गरिएको एक प्राविधिक अध्ययनले खुर्कोट–सिन्धुलीगढी सडकमा १० टन भन्दा धेरै लोडका सवारी चलाउन नहुने यदि त्यसरी चलाए सडकले भारबाहन गर्न नसक्ने बताएको थियो।

चट्टान कटान नगरी बनाइएको उक्त सडकमा धेरै मोड भएकोले राजमार्गका विभिन्न खण्ड गरी ४५ किलोमिटरमा १० टनभन्दा बढी भार भएका सवारी चलाउन नहुने उक्त अध्ययनको निष्कर्ष थियो। काठमाडौंलाई तराईका जिल्लासँग जोड्ने बैकल्पीक राजमार्गको रूपमा निर्माण १६० किलोमिटर लामो राजमार्ग जापानिज निर्माण कम्पनीले नै निर्माण गरेको थियो।

विभागले भने हालसम्म उक्त राजमार्गमा सिफारिस अनुसार कुनै पनि ठूला साधनलाई रूटपरमिट नदिएको बताएको छ। त्यस्तै रात्रीकालिन सेवा संचालनको लागि पनि कसैलाई अनुमति नदिएको भएपनि स्थानिय प्रशासन, प्रहरीको लापरबाहीको कारण ठुला साधन, रातिको समयमा आवतजावत गरिरहेका छन्।

अहिलेसम्म १८ सिट तथा १० टनभन्दा माथि लोड भएका गाडीलाई रूटपरमिट नदिएको विभागका प्रवक्ता पाण्डेले जानकारी दिए।

‘हामीले आजसम्म उक्त रुटमा त्यस्ता सवारीलाई रुटपरिमिट दिएका छैनौ’ उनले भने,‘यदि कसैले लुकीछिपी चलाएको छ भने पनि स्थानीय प्रशासनसँग मिलेर नियन्त्रण गरिरहेका छौं।’ कुनै पनि साधनले परमिटभन्दा बाहेकको प्रायोजनमा साधन चलाएको पाइएमो कानूनअनुसार कारबाही गर्न स्थानिय प्रशासनलाई विभागले सुचित गरेको छ। गाडीलाई परमिट नदिएको बताए पनि काठमाडौंदेखि धरानसम्मको लागि कोशी डिलक्सका २७ सिटे गाडीहरु दैनिक सोही राजमार्ग भएर जान्छन्। काठमाडौंबाट बिहान साढे पाँच बजे उक्त गाडी धरान दैनिक छुट्ने गरेको यातायात व्यावसायीहरुले बताएका छन्।

राजमार्गमा जिप चलाइरहेका एक जना व्यवसायीका अनुसार राजमार्गमा टिप्पर, ट्रकजस्ता साधनहरु प्रत्येक दिन राति गुड्ने गरेका छन्। विभागले त्यसरी कसैलाई पनि परमिट नदिएको यदि कसैले त्यसरी गुडाइरहेको भए गैरकानूनी भएको र कारबाही हुने विभागका प्रवक्ता पाण्डेले बताए।

नेपालमा दर्ता भएको कुनै पनि साधनले पटके अनुमति पाउने कानूनी व्यवस्थाको दुरुपयोग गरेर ठूला साधान खुलेआम चलिरहेको स्वयम् विभागकै अधिकारीहरु बताउने गरेका छन्। राजमार्गमा माइक्रो चलाइरहेका चालकहरुका अनुसार त्यहाँका लोकल बस, तथा ट्रक टिप्परहरु निर्वाध रुपमा चलिरहेका छन्।

यातायात कार्यालयदेखि ट्राफिक प्रहरीसम्मको मिलेमतोमा दैनिक ठूला साधनहरु चलिरहे पनि कसैले रोकथाम नगरेको चालकहरूले बताएका छन्। कानूनमा भएको पटके अनुमतिको दुरुपयोग भएको भए विभागले तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउने भनेपनि आजसम्म कारबाही भएको छैन।