नारायणगढ-मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा बढी समय लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै चार घण्टा भन्दा बढी समय लाग्ने भएको छ । हिजो राति नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरको दुई वटा मेसिनबाट पहिरो पञ्छाउने काम भइरहेको छ । थप पहिरो नखसे १२ बजेभित्र सवारी आवागमन एकतर्फी खुल्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनले अनुरोध गरेको छ । काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ ।

यसैबीच चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा पहिरोस्थलमा आफैं फिल्डमा खटिनुभएको छ । थापा चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राज कुमार तामाङ, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र सडक डिभिजनका प्राविधिक सहितको टोलि लिएर बिहानै ५ बजे पहिरो स्थलमा पुग्नुभएको थियो ।-