नेपालमा पनि ‘मंकीपक्स’का शंकास्पद बिरामी भेटियो

काठमाडौं- नेपालमा मंकिपक्सका शंकास्पद संक्रमित फेला परेका छन्। दुबईबाट नेपाल आएका २६ वर्षिय पुरुषमा मंकिपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

उनकाे हाल काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेकाे अस्पताल श्राेतले जनाएकाे छ ।

अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।

मङ्कीपक्स के हो?
बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मङ्कीपक्स भाइरसबाट यो सङ्क्रमण हुन्छ।

यद्यपि मङ्कीपक्स सङ्क्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन।

यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए।

यो भाइरसका दुई मुख्य भेरिअन्ट छन्: मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरिअन्ट।

पश्चिम अफ्रिकी भाइरसको सङ्क्रमण अर्को भाइरसको सङ्क्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ।

यसका लक्षणहरू के-के हुन्?
सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन्।

केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ।

बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ।

कसरी सर्छ?
मङ्कीपक्स सङ्क्रमितको नजिक रहँदा यो सर्न सक्छ।

यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ।

अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ।

सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा सङ्क्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ।

यो कति खतरनाक छ?
धेरैजसो सङ्क्रमण गम्भीर हुँदैन। यो बिफरजस्तै हुन्छ र सङ्क्रमणको केही सातापछि आफै निको हुन्छ।

तर कहिलेकाहीँ यो गम्भीर हुन सक्छ र पश्चिम अफ्रिकामा यसका कारणले मानिसको मृत्यु भएको तथ्याङ्क छ।

के समलिङ्गी बढी जोखिममा छन्?
यूकेमा सङ्क्रमितमध्ये केही समलिङ्गी भएका कारण यो समलिङ्गीमा बढी हुने रोग हो कि भन्ने प्रश्न उठेका छन्।

तर यो सङ्क्रमित जोकोही व्यक्तिको नजिक सम्पर्कमा हुने जोकोहीलाई पनि सर्न सक्छ।

यूके र युरोपमा अहिलेका सङ्क्रमितहरू बढी समलिङ्गी भएका कारण उनीहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ।

मङ्कीपक्स फैलिनु कति असामान्य हो?
थुनिएको बाँदरमा पहिलो पटक पहिचान गरिएको यो भाइरसको सङ्क्रमण सन् १९७० यता १० अफ्रिकी देशहरूमा कहिलेकाहीँ देखिने गरेको छ।

सन् २००३ मा यो अमेरिकामा पहिलो पटक देखिएको थियो। अफ्रिका बाहिर मङ्कीपक्स देखिएको नै यो पहिलो अवसर थियो।

त्यति बेला विदेशबाट ल्याइएका साना जनावरको सम्पर्कमा रहेका कुकुरबाट मानिसमा सरेको यो रोग ८१ जनामा देखिएको थियो र कसैको पनि मृत्यु भएको थिएन।

सन् २०१७ मा नाइजीरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्क्रमण देखिएको थियो र त्यहाँ १७२ जनालाई सङ्क्रमण भएको आकलन गरिएको थियो। सङ्क्रमितमध्ये तीनचौथाइ २१ देखि ४० वर्षका पुरुष थिए।

मङ्कीपक्सको उपचार के हो?
सङ्क्रमण नियन्त्रण गरेर यो रोगलाई रोकिन्छ।

बिफरको खोप ८५ प्रतिशत प्रभावकारी देखिएको छ।

भाइरसविरोधी औषधिहरू पनि उपयोगी हुन सक्छन्।

के महामारी बन्ला?
यूकेका स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्स यूकेमै मात्रै पनि महामारी बन्ने सम्भावना निकै न्यून रहेको बताएका छन्।

नटिङ्घम विश्वविद्यालयका प्राध्यापक जोनाथन बल भन्छन्: “सङ्क्रमितको सम्पर्कमा आएका ५० मध्ये एक जना मात्रै सङ्क्रमित हुनुले यो अति कम सङ्क्रामक रहेको देखाउँछ।”

“यो महामारीको रूपमा फैलिन्छ भनेर सोच्नु गलत हुन्छ।”