
काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहोर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ । बागमती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामङ्गल पुलमुनिको नदी किनारमा फोहोर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्डर्सलाई रु १०/ रु १० हजार गरी रु २० हजार जरिवाना गरिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले सफाइस्थलमै रसिद काटेर दोषीलाई कारबाही गर्ने अभियान नै चलाउने भएको छ ।
महाअभियानले प्रत्येक हप्ता जरिवाना लिने रसिदसहित नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरेका थिए । सफाइ महाअभियानले काठमाडौँ उपत्यकाका दुवै महानगरपालिका र सबै नगरपालिकालाई दिगो फोहोर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।
विसं २०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुईघण्टा सञ्चालन हुने गरेको छ । आज सफाइ महाअभियानका ५२२ औं हप्तामा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । अर्को शनिबार बिहान पनि यसै स्थानमा सफाइ गरिने जनाइएको छ ।