भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधिन अर्थतन्त्रसम्मका कुरा

काठमाडौँ,२२ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधिन अर्थतन्त्र निर्माण गरी जनताको सेवामा काम गर्ने उद्घोष गरेका छन् ।

अघिल्ला निर्वाचनमा जनताले मत दिएका राजनीतिक दल र उम्मेदवारबाट देश र जनहितमा काम हुन नसकेको आरोप लगाउँदै ती दलले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि निर्वाचनमार्फत मुलुकको नेतृत्व गर्ने अवसर प्रदान गर्न मतदातासमक्ष अपिल गरेका हुन् ।

सुशील गौतम प्रमुख रहनुभएको मौलिक जरोकिलो पार्टीले देशको अवस्था र व्यवस्था दुवै परिवर्तनका लागि सबैभन्दा पहिला अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचो औल्याउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी रहनुपर्छ भनी चुनावी घोषणापत्रमार्फत जनतासमक्ष मत मागेको छ । देशका ४७ जिल्लामा सङ्गठन, प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २०–२० निर्वाचन क्षेत्र तथा समानुपातिकमा ६८ सिटका लागि उम्मेदवारी दिएको उक्त दलको निर्वाचन चिह्न ‘कम्प्युटर’ रहेको छ ।

मुलुकका मुलभूत समस्या पत्ता लगाएर पर्याप्त अनुसन्धानकर्ता एवं प्राविधिकको सहयोगमा विकास र समृद्धिको उपायसहितको मार्गचित्र रहेको दाबी गर्दै मतदातासमक्ष प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षधर तथा गल्ती गर्नेलाई कानुनी कठघरामा उभ्याउनै दृढता हुनुपर्छ भन्ने मान्यता राख्ने ‘हाम्रो नेपाली पार्टी’ले सुशासनका मुद्दाका लागि मत मागिरहेको छ । निर्वाचन चिह्न लौरो तथा अनन्तराज घिमिरे पार्टी अध्यक्ष रहेको उक्त दलले प्रतिनिधिसभामा ६५ र प्रदेशसभा सदस्यमा एक सय एक सिटका लागि उम्मेदवारी दिएको छ ।

नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, सनतन हिन्दू धर्म रहने व्यवस्थाको वकालत गर्दै आगामी निर्वाचनमा पार्टीले मुलुकका ४० सिटमा उम्मेदवारी दिएको बताए । उक्त पार्टीको चुनाव चिह्न सुङ्गा रहेको छ ।

श्यामबाबु गौतम अध्यक्ष रहेको पुनर्जागरण पार्टी नेपालले संविधान र शासकीय संरचनाबीच तालमेल नभएकाले जनाउँदै उन्नत समाजवाद र लोकतन्त्राई दीर्घजीवी तुल्याउने दृष्टिकोणसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहने व्यवस्था कायम गर्दै अघि बढ्न जनतासमक्ष भोट मागेको छ । मैनबत्ती चुनाव चिह्न रहेको उक्त पार्टीले प्रतिनिधिसभा सदस्यमा चार स्थान र प्रदेशसभा सदस्यमा २३ जनालाई उम्मेदवार बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी–समाजवादीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, स्वाधिन आत्मनिर्भर अर्थतन्त्र तथा महिला र पुरुषबीच समान अधिकारका मुद्दा लिएर मत माग्दै जनतासमक्ष गएको छ । महिला–पुरुष चुनाव चिह्न तथा कर्णजित बुढाथोकी अध्यक्ष रहेको उक्त पार्टीले क्रान्तिकारी कम्युष्टि पार्टीको सिद्धान्तलाई जोगाउन हरप्रयत्न गर्ने अठोट लिएको छ ।

राष्ट्रिय नागरिक पार्टीले आधुनिक समाजवादमार्फत जनताको सेवा गर्ने उद्घोषका साथ प्रतिनिधिसभामा ४७ र प्रदेशसभा सदस्यमा ४४ स्थानका लागि उम्मेदवारी दिएर चङ्गा चुनाव चिह्नका लागि जनतासँग भोट मागिरहेको अध्यक्ष शुक्रबहादुर गुरुङले बताए । उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्वाधिन अर्थतन्त्र, शिक्षा र स्वास्थ्य निःशुल्कजस्ता मुद्दामा जोड दिँदै आएको छ ।