हालसम्म निर्वाचित जेठा र कान्छा उम्मेदवार

प्रतिनिधिसभाको यस निर्वाचनमा हालसम्म निर्वाचित हुने सबैभन्दा ज्येष्ठ सदस्यका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र महन्थ ठाकुर छन् । दुवै असी वर्षका हुन् । केसी बागलुङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् भने ठाकुर महोत्तरी ३ बाट निर्वाचित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा–१ बाट निर्वाचित भएका छन्। उनी ७७ वर्षको हुन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका ध्रुवबहादुर प्रधान ७३ वर्षका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचित भएका छन् । उनी पनि ७० वर्षका हुन् ।

यसैगरी रुपन्देही–४बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्षीय र मोरङ–६ बाट निर्वाचित कांग्रेसका डा शेखर कोइराला ७२ वर्षीय हुन् ।

हालसम्म सबैभन्दा कान्छो उमेरकी सांसदका रुपमा सोविता गौतमको प्रवेश भएको छ । आयोगबाट प्राप्त विवरणअनुसार उनी २७ वर्षीया हुन् । गौतम काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएकी हुन् । यस्तै मुस्ताङ निर्वाचन क्षेत्र नं १ बाट २९ वर्षीय योगेश गौचन थकाली र जुम्ला निर्वाचन क्षेत्र नं १ बाट ३० वर्षीय ज्ञानबहादुर शाही पनि कम उमेरका सांसदको सूचीमा परेका छन् ।

प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदको सङ्ख्या न्यून देखिएको छ । हालसम्म पाँच महिला नेत्रीले प्रत्यक्षतर्फको निर्वाचन जितेका छन् । एमाले र रास्वपाका दुई/दुई र माओवादीका एक महिलालाई मात्र सफलता मिलेको छ । धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो (महासेठ) र कास्की २ बाट विद्या भट्टराई तथा दाङ २ बाट माओवादीकी रेखा शर्मा तथा रास्वपाबाट काठमाडौँ २ मा सोविता गौतम र ललितपुर ३ मा तोसिमा कार्की विजयी भएका छन्।

मधेसी समुदायबाट हालसम्म कांग्रेसका दिनेशकुमार यादव सप्तरी ३, रामकृष्ण यादव धनुषा २, अजय चौरसिया पर्सा २, एमालेका रामशङ्कर यादव सिरहा १, जुलीकुमारी महतो (महासेठ) धनुषा ३ र माओवादीका अमनलाल मोदी मोरङ ४, लोसपाका रामप्रकाश चौधरी सर्लाही १, सर्वेन्द्रनाथ शुक्ला रुपन्देही ४, जसपाका वीरेन्द्रप्रसाद महतो सिरहा ४ र प्रदीप यादव पर्सा १ र जनमत पार्टीका चन्द्रकान्त राउत सप्तरी २ बाट निर्वाचित भएका छन्।

स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल मोरङ ५, अमरेशकुमार सिंह सर्लाही ४, किरणकुमार साह रौटहट २, प्रभू साह रौतहट ३ र लालवीर चौधरी बर्दिया २ बाट विजयी भएका छन्।