
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभर कम पानी पर्ने प्रक्षेपण गरेको छ । सरदरभन्दा कम पानी पर्ने र विगतभन्दा न्यून तापक्रम हुने अनुमान पनि गरिएको छ ।
कम वर्षा हुने भन्दैमा वर्षा नै नहुने र विपद् नै नआउने भन्ने होइन भन्दै विभागले त्यसतर्फ सचेत हुनुपर्ने र आवश्यक पूर्वतयारमिा जुट्नुपर्ने बताएको छ । विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने सम्भावना रहेको बताउनुभएको छ ।
नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ । जोशीका अनुसार कुनै ठाउँमा एकैपटक धेरै पनी पर्यो भने त्यो ठाउँका लागि विपद्को जोखिम भईदिनसक्छ । समग्रमा धेरै स्थानमा सुक्खा लाग्ने अनुमान भने गरिएको छ । नेपालमा सामान्यतय: जेठ अन्तिम साताबाट मनसुन प्रवेश गर्छ ।
यसैबीच देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा आज अत्यधिक गर्मी हुने देखिएको छ । कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा भने आज मेघ-गर्जन र चट्याङ्ग सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अत्यधिक गर्मीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अपिल गरिएको छ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।