मौलाकालिका केवलकार सञ्चालनमा

चितवनको सिमानासँग जोडिएको नवलपुरको गैँडाकोटमा नयाँ वर्षको अवसर पारेर मौलाकालिका केवलकार सञ्चालनमा ल्याइएको छ ।

केवलकारले नयाँ वर्षको अवसरमा सेवा शुभारम्भ गरेको हो । आज बिहान ६ बजेदेखि केवलकारको सेवा सञ्चालन भएको थियो । गैँडाकोटस्थित केबलकारको बटम स्टेशनबाट गैँडाकोट–६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गर्नुभएको मौलाकालिका केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेकबिक्रम शाहले जानकारी दिए ।बिहानैदेखि केवलकार चढ्नेको भिड लागेको थियो ।

केवलकारले उद्घाटनको अवसरमा दुइतर्फी भाडा रु ५५० कायम गरिएको व्यवस्थापन विभाग प्रमुख शाहले बताए । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २७५ को टिकट दर तोकेको छ । केवलकारले सार्वजनिक गरेको यो टिकट दर सीमित समयका लागि मात्रै हो ।

त्यसैगरी केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने बताएको छ । मौलाकालिका केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लिकेशनमा आईएमइ पे डाउनलोड गरी सोही एपमार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फतसमेत टिकट प्राप्त गर्न सक्नेछन् ।

गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि बैशाख १ गतेदेखि नै केबलकार सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने बैशाखको मध्यसम्ममा गर्ने तयारी रहेको छ ।

एक हजार दुईसय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ ।भने १२ वटा यात्रुबोक्ने डब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ । एउटा (गोन्डुला) डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता रहेको छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जानकारी दिएको छ ।

केवलकार सञ्चालनमा आउँदा आफूहरुलाई अत्यन्त हर्ष लागेको मौलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए ।