मिटरब्याज पीडित ११औँ दिनमा मातातीर्थ पुगे

चन्द्रागिरि। 

महोत्तरीको बर्दिबासबाट मिटर ब्याजी विरुद्धको आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितहरू मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चखेल हुँदै चन्द्रागिरिको मातातीर्थ पुगेका छन् ।

शनिबार राति मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चखेलमा बास बसेका उनीहरू चखेलबाट बिहान ८ बजे पैदल हिँडेर दिउँसो मातातीर्थ पुगेका हुन् ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट मिटरब्याजी विरुद्ध पैदल सुरु गरेका उनीहरू मिटरब्याजीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राख्दै पैदलयात्रामा निस्किएका हुन् ।

बर्दिबासबाट पैदलयात्रा सुरु गरेको ११औँ दिनमा काठमाडौँ छिरेका मिटरब्याज पीडितहरूले आफ्नो समस्याको सुनुवाइ नभएसम्म काठमाडौँबाट घर नफर्कने जनाएका छन् ।

मिटर ब्याज विरुद्धको सङ्घर्ष समिति नेपालका संयोजक मनोज पासवानले ऋण सापटी लिएकाहरू धेरैजसो घरबारविहीन भएको बताउँदै प्रधानमन्त्रीलाई आफ्ना माग सुनाउन र समस्या समाधानका लागि काठमाडौँ आएको बताउनुभयो ।

उहाँले यसअघि धेरै पटक सरकारबाट आश्वासन पाएपनि मिटर ब्याजीमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै अब भने समस्या समाधान नभएसम्म घर नफर्कने बताउनुभयो ।

पदयात्रामा महोत्तरी, धनुषा, सर्लाही, सिराहा र सप्तरी जिल्लाका मिटरब्याजपीडितहरुको सहभागिता रहेको छ । उनीहरू मकवानपुरको विभिन्न स्थानमा चार रात बसेर काठमाडौँतर्फ लागेका हुन् ।

शुक्रबार बिहान भीमफेदीबाट उकालो लाग्ने क्रममा स्थानीय प्रहरी प्रशासनले मिटरब्याजपीडितलाई फर्काउन प्रयास गरेपनि विफल भएको थियो ।

मिटर ब्याज विरुद्धको आन्दोलनमा सहयोग गर्दै आउनुभएका अभियानकर्मी सङ्घर्ष दाहालले थप आन्दोलनका कार्यक्रमका बारेमा छलफल गरी प्रधानमन्त्रीसहित सरोकारवालाहरूलाई समस्या सुनाउन सोमबार बिहान काठमाडौँको नयाँ बानेश्वरतर्फ लाग्ने बताउनुभयो ।