जेसिस इन्टरनेसनल स्कुलमा इन्द्रजात्राको उत्सव

चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसनल स्कुलले यही मंगलबार इन्द्रजात्राको पूर्वसन्ध्यामा इन्द्रजात्रा उत्सव विशेष एक भव्य कार्यक्रम आयोजना गरेको छ । सो उत्सवमा विद्यालयका विद्यार्थीहरुमध्येबाटै लाखे नाच, कुमारी प्रदर्शन तथा पुलुकिसीको यात्रा समेत गरिएको छ । कार्यक्रममा प्राथमिक तथा माध्यमिक दुवै ब्लकहरुमा बाँसुरी तथा धाँ बाजाको रौनकताका साथ लाखे (कक्षा १० का छात्र अभि महर्जन ) नचाएर विद्यार्थीहरुले आफ्नो मौलिक संस्कार र संस्कृतिप्रतिको आस्था र सम्मानलाई समाजको सामू छर्लङ्ग पारेका छन् ।

बिहानीको प्राथनासभाबाटै सुरु गरिएको सो कार्यक्रममा पृथ्वी नारायण शाहले इन्द्रजात्राकै अवसर पारेर काठमाडौ विजय गरेको र विजयपश्चात् इन्द्रजात्रा मनाएको तथ्यका विषयमा कक्षा १२ का विद्यार्थी सुजन श्रेष्ठले खोजमुलक प्रस्तुति दिए भने कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीद्वय श्रवना मोक्तान र जिजसिका रोक्काले इन्द्रजात्राको किंवदन्ती सुनाए । सो कार्यक्रममा कक्षा ६, ८ र ९ मा अध्ययरत विद्यार्थीत्रय निसाश श्रेष्ठ, सुविन थापा तथा प्रनिस श्रेष्ठले इन्द्राजात्रामा लाखे किन नचाइन्छ भन्ने विषयमा स्पष्ट पारे ।

विद्यालयका कक्षा नर्सरीदेखि कक्षा १२ सम्मकै विद्यार्थीको सहभागिता रहेको सो इन्द्रजात्रा विशेष कार्यक्रममा समयवजी प्रदर्शन गरिनुका साथै प्रसाद ग्रहण पनि गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सरोज महर्जन, विद्यालयका सञ्चालक धनकुमार महर्जन लगायत सबै तहका शिक्षकहरुको सहभागिता रहेको थियो ।

यस किसिमका सांस्कृतिक चाडवाड र उत्सवहरुमा विद्यार्थीलाई सहभागी गराउँदा उनीहरुमा आफ्नो संस्कार संस्कृतिप्रतिको आत्मीयता बढी यसको संरक्षण र सम्बद्र्धनमा थप प्रोत्साहन मिल्ने तथा सामाजिक, सांस्कृतिक मूल्य र मान्यताका विषयमा गहन ज्ञान हासिल गर्न सघाउ पुग्ने विश्वास विद्यालयले लिएको छ ।