समुदाय प्रहरी साझेदारी अन्तर्गत चन्द्रागिरीमा घरदैलो अभियान सुरू

समुदाय प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरीको आयोजनामा चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले थानकोटस्थित साझा घरमा स्टिकर टाँस गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले समाजलाई अपराधमुक्त बनाउने उद्धेश्यका साथ स्थानीय प्रहरीहरूको नम्बरसहितको स्टिकर टाँस्ने र स्थानीय र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गर्ने अभियान फलदायी हुने बताए।

थापाले चन्द्रागिरीका स्थानीयहरूको घरमा स्टिकर टाँस गरी घरधनीहरूको विवरण संकलन गर्न फारम भर्ने काम आजदेखि सुरू भएको बताए।

थापाले भने,‘प्रत्येक घर-घरमा एउटा एउटा स्टिकर टाँस्ने र एउटा फारम भर्ने व्यवस्था गरिएको छ ,भरिएको विवरण गोप्य हुनेछ।’

कार्यक्रममा चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एंव सुरक्षित समाजका लागि अभियान प्रभावकारी हुने बताए।

उनले अचानक हुने घटनालाई नगरपालिकाले विपद व्यवस्थापनमा आवश्य सामग्री खरिद भइसकेको र केही हप्तामै प्रहरीलाई हस्तान्तरण गरिने बताए।