थानकोट नामकरण कसरी भयो?

शोणितपुर हो प्राचीन नाउँ
हुँढा हुँढा भो थानकोट गाउँ
हाल शहर भो झन्झन्  राम्रो 
शोणितपुर नैं घर हो हाम्रो।”
-स्व. लोकप्रकाश श्रेष्ठ




पौराणिककालमा थानकोटको नाम सुप्रभानगरी थियो। यस सन्दर्भमा नेपाल माहात्म्यअनुसार
महेन्द्रदमनले आफनी बहिनी प्रभावतीको निमित्त बनाइदिएको अत्यन्त रमणीय शहर हुनाले सुप्रभानगरी भनिएको हो । भनिएको पनि छ ‘सुप्रभा नगरी रम्या’ अर्थात्‌ ‘सुप्रभा नगरी रमणीय छ ।”

शोणितपुर नामाकरण भएको सन्दर्भ दानवराज वाणासुरको कथासँग सम्बन्धित छ । नेपाल माहात्म्यमा भनिएको छ ‘वाणासुरो दैत्यराज: शोणिताख्ये पुरे भवत्‌ । अर्थात्‌ ‘दैत्यराज वाणासुरले सुनैसुनले बनाएको शहर हुनाले शोणितपुर भनिएको हो ।”

यसरी यस स्थानको नाम सुप्रभानगरीबाट शोणितपुर हुँदै थानकोट हुन पुगेको देखिन्छ । थानकोट नामाकरण कसरी हुनपुगेको भन्ने सम्बन्धमा पनि केही भनाइ रहेको पाइन्छ ।

  • लिच्छवीकालमा थेन्जोग्राम भनिने यस ठाउँमा पछि कोट(कोत) बनाइएको हुनाले थेन्जो’ को अपभ्रंश रूप ‘थेन्‌’ को ‘थान’ भई थानकोट नाउँ रहन गएको होला भन्ने तर्क जगदीशचन्द्र रेग्मीको ‘लिच्छवी संस्कृति’ पुस्तकमा दिइएको छ।
  • गोपालवंशी राजाहरूका दर्वारहरूमध्ये सबभन्दा अग्लो ठाउँमा रहेको दर्वार हुँदा नेवारीमा ‘थक्वाःथ’ भनिएको र त्यसैको अफभ्रंश हुँदै ‘थक्वा:थ:’बाट थानकोट नाम रहन गएको हो भन्ने तर्क ‘नेपाल संस्कृतिया छगू झलक’ भन्ने मदनमोहन मिश्रको पुस्तकमा प्रस्तुत भएको छ।
  • ‘थान” अर्थात्‌ देवताको स्थान वा ठाउँ र “कोट’ अर्थात्‌ दरबारको योगबाट ‘स्थानकोट’ नाम रहन गएको र पछि अपभ्रंश भई थानकोट नाम हुनगएको हो भन्ने तर्क एस.एस. शर्माले ‘खोजखाज’ पुस्तकमा
    उल्लेख गरेका छन्‌ ।
  • वि.सं.१७८९ मा श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहले दहचोकबाट नेपाल खाल्डोमा आक्रमण गर्दा ‘थक्वाथ’ नामक गाउँका रजौटा (नाईके) लाई ‘थानदार’ को दर्जा दिई कोट रक्षा गर्न राखिएकोले गाउँको नाम नै थानकोट हुनगएको भन्ने भनाई पनि छ।

यसरी यस रमणीय र प्राचीन बस्तीको नाम पहिले सुप्रभानगरी थियो भने पछि शोणितपुर हुनपुग्यो । कालक्रम संगसंगै थेन्जोग्राम वा थक्वा:थ: हुँदै थानकोट नामाकरण भै धेरै वर्षदेखि जनजीब्रोमा रसाउन पुगेको हो ।

थानकोटको प्राचीन नाम अन्वेषण गर्ने क्रममा यसै गाउँको चुनिखेल टोलका श्रद्देय कृष्णप्रकाश श्रेष्ठ र ताहाननी टोलका समाजसेवी श्रद्धेय स्व. देवरत्न श्रेष्ठलाई बिर्सन सकिन्न। किनभने उहाँहरूले विक्रमको दुई हजार आठ नौ सालतिरै थानकोटको प्राचीन नाम खोजी गरी ‘शोणितपुर’ नामको प्रचार समेत शुरु गर्नुभएको थियो ।

स्रोत: शोणितपुर हो प्राचिन नाउँ
७ नेपाल मह्त्म्य अ.९ श्लोक १७ 
८ कृष्ण प्रकाश श्रेष्ठ, स्थाननाम कोश, ने. रा.प्र.प्र, २०४४ पृ १४९