
असार १५, काठमाडौं । अाज असार १५ अर्थात् धान दिवस । देशभर धान राेपेर मनाइँदैछ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन धान दिवस मनाउने गरिएको हो।आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष यो दिवस सरकारी तहबाट नै मनाउने गरिएको छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।