आलु उत्पादन बढ्यो, भाउ घट्यो

२०७४- मौसमअनुकुलताका कारण यसवर्ष दोलखामा आलुको उत्पादन करिब २० प्रतिशतले बढेको छ । हिमाली र उच्च पहाडी भेगमा आलु रोप्ने बेलादेखि फल्ने बेलासम्मको मौषमअनुकूलताले आलु उत्पादनमा सकारात्मक नतिजा देखिएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार आलु उत्पादनको तथ्याङ्क लिन गरिएको क्रपकटिङले त्यस्तो नतिजा देखिएको हो । प्रति १० वर्गमिटरमा २६ देखि ४० केजीसम्म उत्पादन भएको क्रपकटिङबाट देखिएको छ ।

गतवर्ष दोलखामा ४५ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । ‘यो वर्ष जिल्लाभरिमा ५२ हजार मेट्रिकटन आलु उत्पादन भयो,’ जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत नेत्रमणि काफ्लेले बताए । यतिखेर हिमाली र उच्च पहाडी भेगमा आलु खन्ने र भण्डारण गर्ने चटारो छ । आलु रोप्ने बेला र सप्रने वेलामा हिउँ परेकाले आलु उत्पादनमा वृद्धि भएको कृषकहरु बताउँछन् । ‘भारी हिमपातले माटो चिसो हुन्छ र त्यो आलुवृद्धिका लागि मलजस्तै काम गर्छ,’

लाकुरीडाँडाका आलु उत्पादक वीरबहादुर मानन्धरले बताए । तर, आलु उत्पादन वृद्धिसँगै मूल्यमा गिरावट आएकोले त्यति सन्तोष नभएको उनको भनाइ छ । गतवर्ष आलु प्रतिधार्नी ७० रुपैयाँसम्ममा बिक्री भएको थियो । यो वर्ष प्रतिधार्नी ५५ रुपैयाँमा बेच्नु परिरहेको उनले बताए ।

गतवर्ष दोलखाबाट २४ हजार मेट्रिकटन आलु निर्यात हुँदा झन्डै ६५ करोड रुपैयाँ भित्रिएको थियो । यो वर्ष ३० हजार मेट्रिकटन आलु निर्यात हुँदा करिब ७२ करोड पैसा जिल्ला भित्रने अनुमान छ । कृषि कार्यालयको अभिलेखमा दोलखाको तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती गरिन्छ | कान्तिपुर दैनिक साभार