
काठमाडौं, १ साउन । काठमाडौंको चन्दागिरी नगरपालिका वडा नं. ९ मच्छेगाउँस्थित रहेको मत्स्य नारायण मन्दिरमा लाग्ने पुरुषोत्तम मास मेलाको सबै व्यवस्थापन पूरा भएको छ । पुरुषोत्तम मास मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी भोलि (साउन २ गते) देखि लाग्ने एक महिना लामो मेलाको सबै व्यवस्थापन पुरा भएको जानकारी गराएको हो ।
मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड भएको छ । मेला व्यवस्थापनका लागि नगरपालिका, सुरक्षा निकाय लगायतका सरोकारवाला निकायहरूसँग समन्वय बनिसकेको छ । मेलामा सार्वजनिक स्थान ओगटेर पसल राख्न नपाइने, व्यापार व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, हरेक पसलमा अनिवार्य रूपमा सबैले देख्ने गरी मूल्य सूची राख्नुपर्नेजस्तो नियमहरु बनाइएको छ ।
मत्स्य नारायण मन्दिर क्षेत्रको १५० मिटर क्षेत्र वरपर मदिराजन्य पदार्थ तथा माछाबाट बनेका परिकार विक्री वितरण रोक लगाईको छ ।
वेदको रक्षा गर्न मत्स्यरुपमा भगवान् विष्णु
मत्स्य अवतारका विषयमा प्रचलित किम्बदन्ती यस्तो छ । प्राचीन कालमा सत्यव्रत नाम गरेका राजाले नदीमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन् । सानो माछाले आफ्नो रक्षार्थ बिन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका थिए । कमण्डलुमा माछा अटाएन । माछालाई क्रमशः तलाउ अनि समुन्द्रमा राख्दा आकार बढ्दै गएको गयो । राजाले भगवान् विष्णुको अवतार बुझेर मत्स्य अवतारको पूजा गरे ।
पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो डुङ्गामा बीउबिजनसहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा विभिन्न पुराणमा उल्लेख छ । हयग्रिव नाम गरेको राक्षसले वेदलाई चोरेर समुद्रमा लुकाएको थियो । भगवान् मत्स्यले हयग्रिवलाई मारेर वेदको पनि उदार गर्नुभएको विश्वास गरिन्छ ।