अाइतबारदेखी थानकोट रूटमा साझा बस, रत्नपार्क हुँदै लगनखेलसम्म पुग्ने

944

चन्द्रागिरि ।

साझा यातायातले आइतबारदेखि आफ्नो सेवा विस्तार गर्ने भएको छ। उपत्यका र बाहिरसमेत सेवा दिँदै आएको साझा यातायातले उपत्यकामा थप तीन रूटमा सेवा विस्तार गर्न लागेको हो।

थानकोटदेखि रत्नपार्कहुँदै लगनखेल, गोदावारीदेखि लगनखेलहुँदै रत्नपार्क र लामाटारदेखि लगनखेलहुँदै रत्नपार्कसम्म सेवा विस्तार गर्न लागेको साझा यातायातका सिइओ महेन्द्र राज पाण्डेले जानकारी दिए।

यसअघिनै साझाले बुङ्गमतिदेखि जावलाखेलहुँदै रत्नपार्कसम्म सेवा दिइरहेको छ।

स्थानीय र जनप्रतिनिधिको आग्रहपछि अहिले उपत्यका भित्र थप तीन रूटमा सेवा थप गर्न लागिएको साझा यातायातले जनाएको छ।

सेमी लो फ्लोर बससहित अहिले ४७ वटा बस रहेको साझाले २ सातापछि ४ वटा बस डिलक्स ल्याउँदैछ। उक्त बसलाई काठमाडौं बाहिर चलाउन प्रयोग गरिने साझाले जनाएको छ। बस आएपछि रूट तय हुने पाण्डेले जानकारी दिए।

यस्तै आगामी ५ महिनामा २० वटा सहरी बस ल्याउने साझाले ४७ बाट बसको संख्या ७१ पुर्‍याउने लक्ष्य राखेको छ।

साझाले अहिलेसम्म सूर्यविनायक-स्वयम्भु, पनौती-रत्नपार्क, धुलिखेल-रत्नपार्क, लगनखेल-नयाँ बसपार्क, लगनखेल-बुढानिलकण्ठ रूटमा सेवा दिइरहेको छ।

यस्तै साझाले उपत्यका बाहिर काठमाडौं-बागलुङ रूटमा बस सञ्चालन गरिरहेको छ।

यसैबीच साझा यातायाले आफ्ना यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ।

नगरभित्र चल्ने यातायातमध्ये टिकट लागू गर्ने पहिलो यातायाता साझाले गाडी चढ्दा यात्रुलाई अनिवार्य टिकट लिन आग्रहसमेत गरेको छ।

कतिपय यात्रुले टिकट बेवास्ता गरेको भन्दै पाण्डेले यात्रुमा टिकट लिएर मात्र यात्रा गर्नुपर्छ भन्ने धारणा विकास गर्न हामीले टिकटलाई अनिवार्य बनाएका छौ।

यात्रुले टिकट नलिँदा चुहावटको सम्भावना रहने पाण्डेय बताउँछन्। ‘टिकट नलिँदा र नदिँदा यात्रुले भाडा नै तिरे/नतिरेको थाहा हुँदैन। टिकट नलिएको भाडा कार्यालयसम्म नआउन सक्छ’, उनले भने,‘भाडा तिरेपछि टिकट लिनु यात्रु र साझा यातायात दुवैका लागि राम्रो हो। पैसा तिरेपछि रसिद माग्नु यात्रुको अधिकार हो।’

साझा यातायातले नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँगको सहकार्यमा विद्युतिय टिकट प्रणाली (इटिकेटिङ) समेत शुरु गर्ने तयारी गरेको छ।

साझाले आगामी दिनमा कार्डको व्यवस्था गरेर अघि बढ्ने योजना बनाएको छ। कार्ड सिस्टमको व्यवस्थाले पारदर्शिता बढ्ने उल्लेख गर्दै पाण्डेले हालको टिकट प्रणालीले पैसा चुहावटको संभावना समेत रहने औंल्याए।