पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी स्थगित

बहुप्रतिक्षित कार्यक्रम पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी-२०७८ स्थगित भएको छ । चन्द्रागिरि नगर क्षेत्रका शताब्दी पुराना स्केच तथा पुराना तस्बिरहरूको बृहत् प्रदर्शनी तत्कालका लागि रद्द गरिएको हो । कोरोना भाइरस संक्रमणको दर उकालो लाग्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश पालना गर्दै पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक जीवन नेपालले चन्द्रागिरि न्यूजलाई जानकारी दिए ।

सम्पूर्ण तयारी पूरा भइसकेको छ, स्थानीय निकाय, स्थानीय साझेदार संघसंस्था एवं प्रायोजकहरूसँगको छलफलपछि हाललाई पूर्व निर्धारित कार्यक्रम तालिका रद्द गर्ने निर्णय गरिएको हो संयोजक नेपालले भने । यसअघि माघ १५ देखि चन्द्रागिरि नगरका विभिन्न स्थानमा कार्यक्रम आयोजनाका लागि तालिका निर्धारण गरिएको थियो ।

चन्द्रागिरि नगर क्षेत्रमै पहिलोपटक आयोजना हुन लागेको प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका करिब १५० वटा पुराना तथा ऐतिहासिक चित्र एवं तस्बिरहरूको प्रदर्शनी हुनेछन । आयोजकका अनुसार कम्तीमा ४० वटा तस्बिर पहिले र अहिले शीर्षकमा तुलनात्मक रूपमा प्रदर्शनीको तयारी गरिएको छ ।