चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

काठमाडौं, जेठ १ गते । बिरामी जाँच गर्दा चिकित्सकहरूले लिने ओपिडी शुल्क आज (सोमबार) देखि वृद्धि भएको छ । नेपालका चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक सङ्घ (एनएमए) र निजी अस्पताल सञ्चालकहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले जेठ १ गतेदेखि लागू हुने गरी ओपिडी शुल्क बढाउने निर्णय गरेको हो ।

ओपिडी शुल्क चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको छ । सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले बढ्दो महँगी र नेपाल राष्ट्र बैठकले जारी गरेको मुद्रास्फीतिको आधारमा शुल्क बढाएको जानकारी दिनुभयो । मन्त्रालय र सरोकारवालाको परामर्शका आधामा नयाँ शुल्क तोकिएको कार्कीले स्पष्ट पार्नु भयो ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, पहिलो संशोधन २०७८ ले स्वास्थ्य सम्बन्धी कुनै पनि सेवाको शुल्क निर्धारण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको अध्यक्षतामा सात सदस्य समिति रहने व्यवस्था गरेको छ । तर तत्कालीन स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले स्वास्थ्य संस्था सञ्चालन मापदण्डलाई मिचेर शुल्क बढाउने जिम्मा नेपाल चिकित्सक सङ्घलाई दिएको सरोकारवाला बत्ताउँछन् ।

नियम विपरीत शुल्क बढाएको भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै चिकित्सकहरूको ओपिडी शुल्कको विषयमा आफू गम्भीर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसरी एक पक्षीय रूपमा शुल्क वृद्धि गर्न मिल्दैन, मैले चिकित्सक सङ्घका प्रतिनिधिहरूलाई सो विषयमा कुरा राखिसकेको छु । उहाँहरूले आफ्नो तर्क राख्नुभएको छ ।”

कति बढ्यो ओपिडी शुल्क ?

नयाँ शुल्क अनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबिबिएस बीडीएस चिकित्सकले ४२० रुपियाँ लिन पाउनेछन् । यसअघि यस्तो चिकित्सकको शुल्क ३७० रुपियाँ तोकिएको थियो । पाँच वर्ष बढी अनुभव भएका एमबिबिएस तथा बीडीएस चिकित्सकले ५१५ रुपियाँ लिन पाउँछ । यसअघि ४५० रुपियाँ शुल्क तोकिएका थियो ।

डिप्लोमा लेभलको चिकित्सकले पाँच वर्ष मुनिको अनुभव छ भने ५९० रुपियाँ र पाँच वर्षभन्दा बढी छ भने ६७० रुपियाँ लिन पाउँछन् । यसअघि पाँच वर्ष कम अनुभव भएकोले ५१५ रुपियाँ र पाँच वर्ष बढी अनुभव भएकाको ५९० रुपियाँ तोकिएको थियो ।

यस्तै, एमडीएमएस एमडीएस लेभलका चिकित्सकले पाँच वर्ष मुनि अनुभव भएपनि ७५० रुपियाँ ओपिडी शुल्क लिन पाउनेछन् । पाँच वर्ष बढी अनुभव भएमा सो लेभलको चिकित्सकले आठ सय रुपियाँसम्म शुल्क लिन सक्नेछन् ।

दुई वर्ष अघि भने यो लेभलको चिकित्सकको शुल्क पाँच वर्षभन्दा कम अनुभव भएकाको ६६० रुपियाँ र त्यसभन्दा बढी अनुभव भएमा सात सय रुपियाँ तोकिएको थियो ।

यस्तै, डीएम एमसीएच तहका चिकित्सक जसको अनुभव पाँच वर्षभन्दा कम छ उनीहरूको शुल्क ८८० रुपियाँ हुने भएको छ । यसअघि उनीहरूको शुल्क ७७० रुपियाँ थियो ।

पाँच वर्ष माथिकाले ९४० रुपियाँ लिन सक्ने छन् । यसअघि यो तहका चिकित्सकले ८२५ रुपियाँ लिन पाउँथे ।

यस्तै, आजबाट निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरको न्यूनतम तलब पनि बढ्ने भएको छ । यसअघि उहाँहरूको न्यूनतम तलब मासिक ४२ हजार रुपियाँ तोकिएकोमा आजदेखि न्यूनतम तलब ४८ हजार ७३७ कायम गरिएको उल्लेख छ ।