थानकोट चन्द्रागिरि नगर प्राथमिक अस्पतालको नयाँ भवनको ढलान कार्य जारी, म्याद थपियो

थानकोट, चन्द्रागिरि – थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालको क्षमता अभिवृद्धि तथा स्तरीकरणका लागि निर्माणाधीन नयाँ भवनको काम तीव्र पारिएको छ। आज शुक्रबार नयाँ भवनको पहिलो तल्लाको ढलान कार्य जारी रहेको छ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभएअनुसार, यो भवन गत असार महिनामै निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौतामा उल्लेख थियो। तर, विविध कारणवश निर्माण कार्यमा ढिलाइ भएकोले अस्पताल निर्माणको म्याद थप १ वर्षका लागि बढाइएको छ।
नयाँ भवनको निर्माण सम्पन्न भएपछि अस्पतालको सेवा विस्तार हुने र स्थानीय बासिन्दालाई थप गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने अपेक्षा गरिएको छ।