राजाबाट छोरीचेली जोगाउन होचो ढोका

उपत्यकामा नेवार समुदायका पुराना घरका मूलढोका होचा हुन्छन् । मुख्य नेवारी बस्तीका प्रवेशद्वार पनि होचै हुन्छन्। यस्ता घर र टोलभित्र प्रवेश गर्दा र निस्कँदा टाउको निहुराउनुपर्छ । मल्लकाल र त्यसअघि बनेका अधिंकाश घरको ढोका होचै हुन्छन् । नेवार समुदायका घर र टोलको मूलढोका होचो बनाउनुको कारण भने अनौठो तथ्यसँग जोडिएको छ ।
पहिले–पहिले राजाहरू नेवार समुदायका सुन्दरी जिस्काउन टोल र घरमा छिर्ने गर्थे । नेवार समुदायका सुन्दर युवतीहरूलाई राजाबाट जोगाउनै मुस्किल पथ्र्यो। राजाहरू घरघर पसेर सुन्दर युवतीलाई जबर्जस्ती लिएर समेत जाने गर्थे। त्यसबेलाको सामाजिक र राजनीतिक संरचनाका कारण राजाले जस्तोसुकै अत्याचार गरे पनि कसैले औँला उठाउन सक्दैनथ्यो ।
राजाहरूको यस्तो हर्कतबाट आफ्ना छोरीचेली जोगाउन नेवार समुदायका अगुवाले घर र टोलको मूलढोका होचो बनाउने जुक्ति निकालेका हुन् । काठमाडौं इन्द्रचोकका गोपालबाबु महर्जनका अनुसार उतिबेलाका राजाहरू टाउको निहुराएर कतै हिँड्दैनथे । उनीहरू टाउको निहुराएर हि“ड्दा आफ्नो छवि घट्ने, साइत नपर्ने जस्ता मान्यता राख्थे ।
‘राजाहरू कसैको घर तथा टोल प्रवेशद्वार होचो छ भने त्यहाँ प्रवेश गर्दैनथे,’ उनले भने, ‘नेवार समुदायका युवतीहरू बाहिर निस्केका बेला राजाहरूले असाध्यै जिस्काउने गर्थे, त्यसकारण राजाहरू टोलभित्र प्रवेश गरी आफ्ना छोरीचेली नजिस्काउन भन्नका निम्ति पुर्खाले यस्तो जुक्ति अपनाएका हुन् ।’

‘घर र टोलमा चोर प्रवेश नगरोस्, राजाहरू स्थानीयको टोलमा प्रवेश नगरून् र बाहिरको हल्ला घरभित्र नछिरोस् भन्नका निम्ति यसो गरिएको हो।’
संस्कृतिविद्, सत्यमोहन जोशी
उनका अनुसार पहिले–पहिलेका राजाहरू सुन्दर युवती देख्नेबित्तिकै पछि लाग्ने गर्थे । आफ्ना छोरीचेली जिस्काएको देख्दा धेरैको मन कुडिन्थ्यो । तर, राजासँग सिधै जुध्न नसक्ने भएकाले नेवार समुदायका केही अगुवाले यस्तो जुक्ति अपनाएका थिए । ‘राजाको अगाडि बोल्न सबै डराउने रहेछन्, स्थानीयले आफू–आफू छलफल गरी घरको मूलगेट होचो बनाउन थालेका थिए,’ उनले भने।

भक्तपुर दरबार क्षेत्रनजिकै घर भएका स्थानीय श्याम श्रेष्ठले पुराना घरको मूलढोका होचो बनाउने चलन भक्तपुरबाटै सुरु भएको बताए । ‘भक्तपुर दरबार क्षेत्रनजिकै पुरानो मौलिक शैलीमा बनेको नेवार समुदायका मूलढोका होचा छन्,’ उनले भने, ‘पहिले–पहिले राजाहरू यहाँ धेरै बस्थे, उनीहरू टोलका युवतीहरु जिस्काउने रहेछन्, राजाहरूको यस्तो प्रवृत्ति रोक्नका निम्ति घरको मूलढोका होचो पारिएको रहेछ ।’ उनले अझै पनि यहाँका पुराना अधिकांश घरभित्र छिर्न टाउको निहुराउनुपर्ने बताए।

संस्कृति अनुसन्धानकर्ता एकाराम सिंहले लिच्छवी कालदेखि नै शासन गर्दै आएका राजामहाजाले नेवार टोलका युवतीलाई असाध्यै जिस्काउने इतिहास रहेको बताए । ‘आफ्ना छोरीहरू जिस्काएका बेला आमाबाबुलाई असह्य हुन्थ्यो, उनीहरू राजासँग मुख खोल्न डराउँथे,’ उनले भने, ‘बरु राजाहरूले थाहा नपाउने गरी घरको मूलढोका होचो बनाउन थाले ।’ उनले लिच्छविकालदेखि नै आफ्ना छोरीलाई सुरक्षित राख्न घरको मूलढोका होचो पारिएको बताए ।
संस्कृतिविद् सत्यमोहन जोशीले भने घरको र टोलभित्र प्रवेश गर्ने मूलढोका होचो हुनुको कारण धेरै रहेको बताए । ‘घर र टोलमा चोर प्रवेश नगरोस्, राजाहरू स्थानीयको टोलमा प्रवेश नगरुन् र बाहिरको हल्ला घरभित्र नछिरोस् भन्नका निम्ति यसो गरिएको हो,’ उनले भने।

जोशीका अनुसार पाटनको माहापालमा मल्लकालमा बनेका अघिकांश घरको मूलढोका होँचा छन् । यहाँका जात्रा–पर्व हेर्नका लागि आउने राजाले युवतीहरू जिस्काउने गरेका कारण घरको मूलढोका होँचा बनाइन्थ्यो । ‘पहिलाका राजाहरू शिर झुकाउँदैनथे, आफ्नो ढाड सीधा पारेर छिर्न नसक्ने ठाउँमा उनीहरू प्रवेश गर्दैनथे,’ संस्कृतिविद् जोशीले भने, ‘प्रजाले भने राजाको नकारात्मक गतिविधि रोक्नका निम्ति यस्तो जुक्ति अपनाएका थिए ।’ उनले घरको मूलढोका होचो बनाउँदा चोर समात्न सजिलो हुने भएकाले पनि मूलढोका होचो पारिएको हुन सक्ने बताए।

संस्कृति अनुसन्धानकर्ता रास जोशीले पनि युवतीहरू सुरक्षित राख्नका लागि यसो गरिएको हुनसक्ने बताए । ‘हामीले सुनेअनुसार राजाहरूको पालामा टोल–टोलमा युवती जिस्काउन आउने राजालाई छेक्नका निम्ति यस्तो उपाय अवलम्बन गर्न थालिएको हो,’ उनले भने।

पाटनका श्यामराजा बज्राचार्य घरको ढोका होचो बनाउनुको कारण धेरै रहेको बताउँछन् । उनले होचो ढोका बनाउँदा बाहिरबाट भित्र नदेखिने र भित्रबाट बाहिर देखिने बताए । ‘पुराना घरको ढोका होचा बनाउनुमा बेग्लाबेग्लै दृष्टिकोण पाउन सकिन्छ,’ उनले भने, ‘मेरो बुझाइमा घरको सुरक्षा गर्न र राजालाई घर तथा टोलभित्र प्रवेश गर्न नदिन यसो गरिएको हो।’

उनका अनुसार नेवार समुदायमा घर निर्माण गर्दा तीनवटा तला बनाउने चलन छ । पहिलो तलामा घरका सामान राख्ने, दोस्रोमा अतिथि सत्कार गर्ने र तेस्रोमा भान्साकोठा बनाउने प्रचलन छ।