चन्द्रागिरिमा प्रथम बागमती प्रदेशस्तरीय खुला धिमे प्रतियोगिता हुने

श्री नासःभैरव धिमय खल, चन्द्रागिरि नगरपालिका–६, नगाःचाको आयोजनामा प्रथम बागमती प्रदेशस्तरीय खुला धिमे प्रतियोगिता २०८२ असोज ११ गते शनिबारका दिन आयोजना हुने भएको छ। प्रतियोगिता चन्द्रागिरि–७ स्थित प्रभात माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न हुनेछ।

धिमे सांस्कृतिक विधालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहलाई नगद एक लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो स्थान प्राप्त गर्ने समुहले पचास हजार रुपैयाँ, तेस्रो स्थान प्राप्त गर्नेले पच्चीस हजार रुपैयाँ र सान्त्वनाका रूपमा दस हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक समुहहरूले दुई हजार पाँच सय रुपैयाँको दरमा दर्ता गर्नुपर्नेछ भने दर्ताको अन्तिम मिति २०८२ सालको असोज ६ गतेसम्म कायम गरिएको छ। इच्छुक सहभागीहरूले फोनमार्फत पनि दर्ता गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि अनिल महर्जन र सुनिल महर्जनसँग सम्पर्क गर्न सकिनेछ। आयोजक समितिले सम्पूर्ण सांस्कृतिक प्रेमीहरूलाई कार्यक्रममा सहभागिता जनाई सफल पार्न अनुरोध गरेको छ।