
काठमाडौं–२३ मा सीप तथा आयमूलक हस्तकला तालिमको समापन तथा हस्तकला प्रदर्शनी हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिका–२३ मा सीप तथा आयमूलक हस्तकला तालिमको समापन तथा हस्तकला प्रदर्शनको उद्घाटन कार्यक्रम आयोजना हुने भएको छ।
काठमाडौं महानगरपालिका शिक्षा विभागबाट अनुमति प्राप्त तथा काठमाडौं महानगरपालिका–२३ वडा कार्यालयको सहयोगमा श्री जोर गणेश सामुदायिक सिकाइ केन्द्रको आयोजनामा कार्यक्रम हुन लागेको हो।
तालिममार्फत सहभागीहरूलाई विभिन्न हस्तकलासम्बन्धी सीप प्रदान गरी सीपलाई आयआर्जनसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा तालिममा सहभागीहरूले तयार पारेका हस्तकलाका सामग्री प्रदर्शनमा राखिने बताइएको छ। प्रदर्शनीले स्थानीयस्तरमा उत्पादन भएका हस्तकला सामग्रीको प्रवर्द्धन तथा सहभागीहरूको सीपलाई बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजक श्री जोर गणेश सामुदायिक सिकाइ केन्द्र तथा काठमाडौं महानगरपालिका–२३ वडा कार्यालय रहेका छन्।










