काठमाडौं, साउन ३१ — युवाहरूलाई गुणस्तरीय उच्च शिक्षामार्फत सशक्त बनाउने लक्ष्यसहित लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगले सान इन्टरनेशनल कलेजको सहकार्यमा “प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति” कार्यक्रम घोषणा गरेको छ।
काठमाडौंको सान इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रममा बोल्दै क्लबका प्रतिनिधिले छात्रवृत्ति कार्यक्रमले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसकेका प्रतिभाशाली विद्यार्थीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्ने अवसर दिने विश्वास व्यक्त गरे।
छात्रवृत्तिको व्यवस्था सान इन्टरनेशनल कलेजमा सञ्चालन हुने छवटा लोकप्रिय स्नातक तहका कार्यक्रमहरूमा गरिएको छ। बायोटेक्नोलोजी विषयमा पाँच जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउनेछन्। बीबीए कार्यक्रमका लागि १५ सिट, BIT (ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी) मा पाँच सिट, B.Sc. CSIT मा चार सिट, BCA मा चार सिट, र BA.LLB मा छ सिटको छात्रवृत्ति व्यवस्था गरिएको छ।
“प्रविधि–विधि–नेतृत्व” शीर्षकमा राखिएको यो कार्यक्रम तीनवटा आधारशिलामा आधारित रहेको छ। प्रविधिको माध्यमबाट नवप्रवर्तन र दक्षता विकास, विधिको माध्यमबाट न्याय र सुशासनको प्रवर्द्धन, तथा नेतृत्वको माध्यमबाट जिम्मेवार र दूरदर्शी नेतृत्वको विकास नै यस कार्यक्रमको मूल उद्देश्य रहेको आयोजकहरूले बताए।
कार्यक्रमका दौरान लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगका सम्पूर्ण सदस्यहरू, सान इन्टरनेशनल कलेजका प्राध्यापकहरू, र विभिन्न सामुदायिक साझेदारहरूले संयुक्त रुपमा विद्यार्थीको भविष्य निर्माणमा गरिएको यो पहललाई ऐतिहासिक कदमको रुपमा स्वागत गरेका थिए।
उक्त अवसरमा बोल्ने वक्ताहरूले यो छात्रवृत्ति कार्यक्रम केवल आर्थिक सहयोग मात्र नभइ राष्ट्रको समृद्ध भविष्यको आधार निर्माण गर्ने अभियान भएको बताएका थिए। उनीहरूले सञ्चारकर्मीहरूलाई यो सन्देश देशभर पुर्याइदिन आग्रह गर्दै, योग्य विद्यार्थीहरूले यस छात्रवृत्तिबाट लाभ उठाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न सक्ने विश्वास व्यक्त गरे।





