संसारको सबैभन्दा शक्तिशाली वस्तु के हो? सूचना। संसारमा सबैभन्दा बढी छिरिने वेबसाइटमध्ये छैठौँ रहेको विकिपिडिया पनि संसारकै शक्तिशाली वेबसाइटमध्ये गनिन्छ। पश्चिमा मुलुकहरुले लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र प्रेसजस्ता कुरा उपयोग गरी आफ्ना इतर विचार प्रवाह गर्ने मुलुक, राष्ट्रप्रमुखविरुद्ध यसको उपयोग हुने गरेको छ। यस्तै महसुस गरेर रुस र चीनजस्ता मुलुकले आफ्नै किसिमको विकिपिडिया सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेका छन्।
चीनले त आउँदो वर्ष नै यस्तो विश्वकोश जारी गर्ने अन्तिम तयारी गरिरहेको छ। आफ्नै विकिपिडियाका लागि २० हजारभन्दा बढी कामदार नियुक्त गरिएका छन्। यसमा तीन लाख पृष्ठ सूचना संग्रहित हुनेछन्। प्रत्येक पानामा कम्तीमा एक हजार शब्द हुनेछ।
चीनका सरकारी विश्वविद्यालयका चुनिएका शिक्षकहरु विश्वकोश बनाउन सहयोग गरिरहेका छन् तर विकिपिडियामा भने जोसुकैले आफूले जानेको जानकारी लेख्न सक्छ।
चीनमा विकिपिडियालाई फेसबुक तथा ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रतिबन्ध भए पनि विकिपिडिया भने चलाउन मिल्छ तर त्यसमा रहेका कैयौँ पृष्ठ भने खुल्दैनन्।
विश्वकोशका प्रमुख सम्पादक याङ मुझीले भनेका छन्, ‘यो किताब होइन, यो त संस्कृतिको एउटा ठूलो पर्खाल हो।’ याङ मुझी बुक्स एन्ड पिरियोडिकल्स डिस्ट्रिब्युसन एसोसिएसन अफ चाइनाका अध्यक्ष हुन्। याङका अनुसार यो विश्वकोशलाई विकिपिडियाको प्रतिद्वन्द्विका रुपमा ल्याइनेछ। ‘जनता र समाजका लागि’ आफ्नै एउटा प्लेटफर्म बनाउने एउटा अन्तर्राष्ट्रिय दबाबका कारण यस्तो गरिएको उनको भनाइ छ।
सन् १९९३ मै पनि पहिलो पटक किताब आकारमा चीनको इन्साइक्लोपिडिया प्रकाशन गरिएको थियो। यसको दोस्रो संस्करण २०१२ मा आएको थियो। आलोचकहरुले भने सरकारले प्रस्तुत गरेको यस पुस्तकमा राजनीतिक कारणले कतिपय विषयलाई बंग्याइएको थियो। अनलाइन इन्साइक्लोपिडिया बनाउन २०११ मै स्वीकृति पाइएको भए पनि भर्खर यस परियोजनामा काम थालिएको बताइन्छ।
त्यसो त चीनका प्रख्यात कम्पनीहरु बाइडु, किहु ३६० र विकिपिडियाजस्ता अनलाइन विश्वकोश छँदैछन्। यो सरकारी इन्साइक्लोपिडियाले तिनलाई सिधा चुनौती दिनेछ। विकिपिडिया हेर्नेहरुले चीनमा दलाई लामा र राष्ट्रपति सी जिनपिङबारे पेज खोज्न पाउँदैनन्।
परियोजनामा संलग्न जोस राइटले भने यस विश्वकोशमा एक खास चिनियाँ अनुभव पाइने र पाठकले स्थानीय स्वाद पाउने विश्वास गरेका छन्। यस परियोजनाले उम्दा सम्पादकहरुको समूहको सहयोगले विकिपिडियासँग प्रतिस्पर्धा गर्नेभन्दा विकिपिडियाभन्दा अघि बढ्ने लक्ष्य राखिएको छ।
हालै मात्र टर्कीले विकिपिडियामा प्रतिबन्ध लगाएको थियो। यसअघि नै ट्वीटर, फेसबुक र युट्युब प्रतिबन्धित छ।
सन् २०१४ मै रुसले पनि विकिपिडियालाई चुनौती दिने गरी नयाँ विश्वकोश बनाउने घोषणा गरेको थियो। रुसले आफ्नाबारे पश्चिमा मुलुकले जथाभावी समाचार बनाउने गरेको आरोप लगाउँदै आएको छ।
Leave a Reply
You must be logged in to post a comment.