चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झादारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।



jibss

समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले चार्जिङ स्टेशन निर्माण र संचालन सम्बन्धी भएको सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिनु हुँदै आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयहरूमा चार्जिङ स्टेशन विस्तार गर्न समेत आग्रह गर्नुभयो । विद्युत चोरी, विद्युतीय पोल चोरी लगायतका विषयमा विद्युत प्राधिकरणसँग यसभन्दा अगाडि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेशनहरुको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताउनुभयो ।

समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेकोमा यसमा नेपाल प्रहरीको भूमिका सबै भन्दा बढी प्रभावकारी रहने भएकोले यस सम्झौताले आगामी दिनमा नेपाल प्रहरीसँग प्रभावकारी रुपमा सम्बन्ध स्थापना हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । चार्जिङ स्टेशन स्थापना गर्ने कार्यमा सुरक्षा चुनौती र स्थानको समस्यालाई समाधान गर्न नेपाल प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

कार्वन उत्सर्जनबाट वायुमण्डल, पर्यावरण र जीवजन्तुमा पर्न गएको नकारात्मक असरले विश्वलाई नै चिन्तित बनाइरहेको अवस्थामा कार्वन फुटप्रिन्टलाई कम गर्न विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेका विद्युतीय सवारी साधनहरूलाई सहज रूपमा चार्जिङ सुविधा उपलब्ध गराउन यो सम्झौता भएको हो ।

नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर मणि ज्ञवालीले चार्जिङ स्टेशनको स्थापनाको महत्व र उद्देश्यको बारेमा प्रकाश पार्नुभएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल विद्युत प्राधिकरणका निमित्त उप-कार्यकारी निर्देशक एवं सहायक प्रबन्धक, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।