चन्द्रयान-३: भारतीय अन्तरिक्षयान चन्द्रमामा सफल अवतरण

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ।

यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो।

गत सप्ताहान्तमा उस्तै लक्ष्य बोकेको रुसी अन्तरिक्षयान अवतरणका क्रममा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो।

चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतकारूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्।

अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ।

चन्द्रयान-३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ।

यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए।

चन्द्रयान-३

अवतरण भएको केही समयपछि विक्रम ल्यान्डरबाट छ वटा पाङ्ग्रा भएको रोभर बाहिर निस्किनेछ र चन्द्रमाको सतहमा रहेका चट्टान र खाडलहरूतिर अघि बढ्दै पृथ्वीमा महत्त्वपूर्ण तस्बिर तथा डेटाहरू पठाउनेछ।

रोभरको पाङ्ग्रामा इसरोको लोगो र प्रतीक चिह्न पनि छन्। पाङ्ग्राहरू गुड्दा तिनले चन्द्रमाको माटोमा इसरोको छाप बसाउने एक अधिकारीले बीबीसीलाई बताए।

चन्द्रयान

तस्बिर स्रोत,REUTERS

अवतरणको दिन सावधानीपूर्वक तय गरिएको थियो। यो दिन चन्द्रमाले आफ्नो कक्षमा परिक्रमा गर्दा लगाउने समय ‘लूनर डे’ को आरम्भसँग मिल्छ।

चन्द्रमाको एक दिन पृथ्वीमा १४ दिन हुन्छ।

ल्यान्डर र रोभरका ब्याट्रीहरूलाई चार्ज हुन र काम गर्न सूर्यको प्रकाशको आवश्यकता पर्छ।

रात परेपछि तिनले काम गर्न छाड्छन्।

चन्द्रमामा अर्को दिन हुँदा त्यसले फेरि काम गर्छ वा गर्दैन स्पष्ट छैन।

तेस्रो चन्द्र अभियान

चन्द्रयान-३

तस्बिर स्रोत,REUTERS

भारतको यस तेस्रो चन्द्र अभियानको सफलताको प्रार्थना गर्दै त्यहाँ बुधवार दिउसैदेखि मन्दिर, मस्जिद र गिर्जाघरहरूमा प्रार्थना कार्यक्रमहरू आयोजना गरिएका थिए।

यसअघि सन् २०१९ मा समेत भारतले चन्द्रयान-२ मिसनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो।

तर यान दुर्घटनाग्रस्त भएपछि उक्त अभियान विफल भएको थियो।

सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र मिशन चन्द्रयान-१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो।

त्यसले दिउँसोको समयमा चन्द्रमामा वायुमण्डल पनि हुने जनाएको थियो।

चन्द्रयान-३

एउटा अर्बिटर, ल्यान्डर र रोभर रहेको चन्द्रयान-३ लाई दक्षिण भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट गत जुलाई १४ मा प्रक्षेपण गरिएको थियो।

ल्यान्डरको नाम ‘विक्रम’ इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) का संस्थापक विक्रम साराभाईप्रति सम्मान व्यक्त गर्न राखिएको हो। ल्यान्डरमा २६ किलोग्रामको ‘प्रज्ञान’ नामक रोभर छ।

प्रज्ञान संस्कृत शब्द हो र त्यसको अर्थ ‘विवेक वा बुद्धि’ हो।

बिबिसी