अब अनलाइनबाटै विद्युत महशुल तिर्न सकिने, कार्यालय धाउनुपर्ने झन्झटबाट उपभोक्ता मुक्त

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल तिर्न कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गरेको छ।

घरमै बसेर मोबाइल एप्लिकेसनबाट बिजुलीको बिल तिर्ने व्यवस्थाको आज उर्जा मन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा उद्घाटन गरेका हुन्।

‘अनलाइन पेमेन्ट प्रणाली’ सुरुवाती १५ दिन काठमाडौं उपत्यकामा ‘ट्रायल’ गर्ने त्यसपछि देशभर विस्तार गर्ने मन्त्री शाहीले जानकारी दिए।

कसरी प्रयोग गर्ने अनलाइन पेमेन्ट
अनलाइनबाट बिजुलीको बिल तिर्न बैंक खाता हुने ग्राहकलाई सबैभन्दा सजिलो छ। त्यसपछि मोबाईल वा एसएमएस बैंकिङ मार्फत बिल तिर्न सकिन्छ।

यदि बैंकमा खाता छैन वा खाता भएर पनि मोबाईल वा एसएमएस बैंकिङको सेवा नलिएको भए अनलाईन पेमेन्टको स्वीकृति लिएका वित्तिय संस्थाबाट बिल तिर्न सकिन्छ। अनलाईन मार्फत बिजुलीको बिल तिर्न अहिलेसम्म नौ वटा वित्तिय संस्था एवं सेवा प्रदायकले आवेदन दिएकोमा छ कम्पनीसँग सम्झौता भइसकेको छ।

महालक्ष्मी विकास बैंक, ई-सेवा, प्रभु बैंक, सिएफएस रेमिट, पेपोस्ट नेपाल र सिटि एक्सप्रेस मनिट्रान्सफरले पहिलो चरणमा अनुमति पाएका हुन्। त्यसैगरि हिमालयन बैंक, नेपाल ईन्भेस्टमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडले आवेदन दिएकोमा केहि दिन भित्रै सम्झौता हुने प्राधिकरणले जनाएको छ। यी संस्थाका देशभर १५ हजार बढि शाखा एवं काउन्टर छन्। सबैभन्दा बृहत सञ्जाल ई-सेवाको छ।

बैंकको शाखा नजिकमा नहुने उपभोक्ताले स्वीकृति लिएका मनीट्रान्सफर, ईसेवा एवं पेपोस्ट सेवा प्रदायक काउन्टरबाट पनि बिल तिर्न सकिने प्राधिकणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

विदेशमा बस्नेले समेत मनी ट्रान्सफरहरु मार्फत बिल तिर्न सक्नेछन्। साथै बिल तिर्नको लागि नेपाल टेलीकमले जस्तै रिचार्ज कार्ड बजारमा ल्याउने तयारी गरेको समेत प्राधिकरण कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। अनलाइन पेमेन्टको लागि कुनै अतिरिक्त भुक्तानी गर्न नपर्ने उनले जानकारी दिए।