नेपालको इन्टरनेट दक्षिण एसियाकै महँगो

काठमाडौँ । मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदनमा नेपालमा प्रयोग हुने इन्टरनेट विश्वका अन्य देशहरूको तुलनामा पनि महँगो रहेको पाइएको छ ।

प्रतिवेदनमा समेटिएका इन्टरनेटसम्बन्धी विभिन्न वर्गीकृत सूचकमध्ये मूल्यका हिसाबले विश्वका एक सय देशको सूचीमा नेपाल ८४औँ स्थान पारेको छ । त्यस्तै प्रतिवेदनमा समेटिएका पाँचवटा दक्षिण एसियाली मुलुकमध्ये नेपाल पुछारमा छ । सम्बन्धित देशको आयस्तर र इन्टरनेटको मूल्यका आधारमा यो सूची तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियाली देशमध्ये भारतमा इन्टरनेटको मूल्य सबैभन्दा सस्तो रहेको छ । एक सय मुलुकमध्ये भारत दसौँ स्थानमा छ । त्यसपछि श्रीलङ्का रहेको छ । समग्रमा भने श्रीलङ्काले ४३औँ स्थान पाएको छ । ४७औँ स्थानमा रहेको पाकिस्तान दक्षिण एसियाली मुलुकको सूचीमा भने तेस्रो स्थानमा छ । प्रतिवेदनमा बङ्गलादेश ७०औँ स्थानमा रहेको छ । यो खबर आजको गोरखपत्रमा छापिएको छ ।