
चन्द्रागिरि ।
पहिलो चरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न भएका मतदान केन्द्रहरूको मतगणनाको कार्य जारी छ । चन्द्रागिरि नगरपालिका निर्वाचन अधिकृतको कार्यालय बलम्बूमा अाइतबार रातिदेखी मतगणना भइरहेको छ । मंगलबार दिउँसो १२ बजेसम्म नगरका १, २ र ३ वडाका नतिजा सार्वजनिक भइसकेका छन् भने वडा ४ र ५ को मतगणना जारी छ ।
चन्द्रागिरि नगरपालिकाको मेयरमाझैँ उपमेयरमा पनि नेपाली काँग्रेस पार्टीले नै अग्रता बनाएको छ । काँग्रेसकी इन्द्रावति श्रेष्ठले १८६९ मत प्राप्त गर्दा नेकपा एमालेकी निशा नकर्मीले १५१३ मत प्राप्त गरेकी छन् । माअोवादी केन्द्र तथा राप्रपाका उम्मेदवारहरूले क्रमश ९९५ तथा १५२ मत प्राप्त गरेका छन् ।
यसैबीच चन्द्रागिरि नगरका पहिलो ३ वडाका नतिजाहरू सार्वजनिक भएका छन् जसअनुसार वडा नं. १ मा नेकपा एमालेका राजेन्द्र केसीले प्यानल सहितको विजय हासिल गरेका छन् । वडा नं. २ मा नेकपा माअोवादी केन्द्रका गोपी सुर्खेतीले प्यानल सहित वियज हासिल गरेका छन् त्यस्तै वडा नं. ३ मा नेपाली कांग्रेसका दुर्गालाल महर्जनले प्यानल सहित विजय हासिल गरेका छन् । अहिले च.न.पा ४ र ५ को मतगणना भइरहेको निर्वाचन अधिकृत गणेश नायकले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए ।