रमा : ३३ प्रतिशत महिला हुनुपर्छ

चन्द्रागिरि,

महिला सांसदहरुले संघीय र प्रदेशको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने आवाज उठाउन थालेका छन् ।

उनीहरुले प्रदेशको मुख्यमन्त्री, सभामुख, उपसभामुखमा संविधानले व्यवस्था गरेको व्यवस्था अनुसार महिलाको प्रतिनिधित्व हुनु माग गरेका छन् । राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

केन्द्रमा ८ महिला मन्त्री ?

जसअनुरुप केन्द्रीय मन्त्रिपरिषद्‍ कम्तिमा ८ महिला मन्त्री हुनुपर्छ । केन्द्रीय मन्त्रिपरिषद्‍मा बढीमा २५ जनाको मन्त्रिपरिषद हुने संवैधानिक व्यवस्था छ ।

यता प्रदेशमा कु्ल सांसदको २० प्रतिशत मन्त्री बनाउन सकिने व्यवस्था छन् । ६ वटा प्रदेशमा स्पष्ट बहुमत रहेका एमाले र माओवादीको गठनबन्धनले कुल सांसदको १० प्रतिशत मन्त्री बनाउने निर्णय गरेका छन् ।

प्रदेशमा महिलाको अवस्था

जसअनुसार ९३ सांसद रहेको प्रदेश १ मा ९ जनाको मन्त्रिपरिषद हुन्छ भने ११० सांसद रहेको प्रदेश ३ मा ११ जना, ६० सांसद रहेको प्रदेश ४ मा ६, ८७ सांसद रहेको प्रदेश ५ को ९ जना , ४० सांसद रहेको प्रदेश ६ मा ४ जना, ५३ सांसद रहेको प्रदेश ७ मा ५ को मन्त्रिपरिषद्‍ हुन्छ ।

उता मधेसवादी गठबन्धनको बहुमत रहेको प्रदेश २ मा २० प्रतिशत नै मन्त्री बनाएपनि २० जनाको मन्त्रिपरिषद्‍ हुन्छन् । प्रदेश २ मा कुल १०३ प्रदेश सांसद् रहेका छन् ।

जसमा ३३ प्रतिशतको संवैधानिक व्यवस्था अनुसार प्रदेश १ मा ४ जना, प्रदेश ३ मा ३ जना, प्रदेश ४ मा २ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ६ मा १ जना र प्रदेश ७ मा २ जना महिला मन्त्री हुनसक्छ । उता प्रदेश २ मा कन्तिमा ६ जना महिला मन्त्री बन्न सक्छन् ।

संघीय र प्रदेश सभामा प्रत्यक्षतर्फ न्यून महिलाले विजयी भए पनि संघीय सांसदमा ३३ प्रतिशत प्रतिनिधित्वको अनिवार्य व्यवस्थाले समानुपातिकतर्फबाट अधितम महिला लगिएको छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमालेबाट दुईजना महिला विजयी भएका छन् । माओवादी केन्द्रबाट तीन जना र जनमोर्चाबाट एक गरी ६ महिलाले मात्र प्रतिनिधि सभामा जितेका छन् ।

रमा आले मगर: 

काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट प्रदेश सभामा निर्वाचित रमा आलेमगरले प्रदेश मन्त्री, सभामुख,उपसभामुख र मुख्यमन्त्रीसम्ममा संविधानले व्यवस्था गरे अनुसारको प्रतिनिधित्व गराउनु पर्ने बताइन । उनले भनिन,‘प्रदेशको मन्त्री मात्र होइन, मुख्यमन्त्री, सभामुख, उपसभामुख पनि ३३ प्रतिशत महिला हुनुपर्छ।’

उनले प्रदेश नम्बर ३ मा मुख्यमन्त्री महिला नै हुने सम्भावना रहेको बताइन् । ‘हाम्रो प्रदेशको मुख्यमन्त्री नै महिला हुँदैहुनुहुन्छ, म पनि मन्त्री हुन सक्षम छु’, उनले भनिन् । आलेमगरले निर्णायक तहमा नपुगेसम्म महिलाको क्षमता अभिबृद्धि नहुने बताइन ।

एमालेबाट निर्वाचित रमाले महिलाको बढी भन्दा प्रतिनिधित्वको लागि पार्टीमा लविङ गरिरहेको बताइन् । उनले प्रत्यक्षमा जितेका महिलालाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन् ।